site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्तापुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोडको ८० प्रतिशत हुन आउने आठ अर्ब ३२ करोड रुपैयाँ बराबरको आठ करोड ३२ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरूको चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय गरेसँगै हिमालयन रिले लगानीकर्ताबाट आठ अर्ब ३२ करोड रुपैयाँ असुल्ने तयारी गरेको हो । कम्पनीले लगानीकर्तालाई चुक्तापुँजीको चार प्रतिशत बोनस सेयर दिएर ४० करोड रुपैयाँ पुँजी थप गर्ने प्रस्ताव गरेको छ । २० अर्ब पुँजी पुर्‍याउन कम्पनीलाई अब थप एक अर्ब २८ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।

कम्पनीले फागुन २० गते आइतबार वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ६ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको चार प्रतिशत लाभांश लिन योग्य हुनेछन् ।

तर, हकप्रद सेयर भने कम्पनीले नेपाल बिमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र निष्कासन गर्नेछ । हकप्रदका लागि बुक क्लोज भने पछि तोकिने छ । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्