site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई आठौँ सफलता, दीपेशले लिए पहिलो विकेट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालले आठौँ विकेट लिएको छ । 

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका दीपेश कँडेलले अफगानिस्तानका अरब गुललाई एलबीडब्लूको घरापमा पारे । जारी खेलमा दीपेशको यो पहिलो विकेट हो ।

जारी खेलको २१ ओभर समाप्त हुँदा अफगानिस्तानले आठ विकेट गुमाएर ८८ रन जोडेको छ । 

नेपालबाट यसअघि आकाश चन्दले पाँच विकेट लिँदा गुल्सन झा र तिलक भण्डारीले समान एक विकेट लिएका थिए ।

यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।

आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । 

अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ ।

यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्