site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सन्धि सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी संघ संगठनहरूसँग गरेको सन्धि सम्झौताहरूको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिले सरकारलाई नेपाल सरकार पक्ष भइ विभिन्न मुलुकहरू वा सरकारी संघ संगठनहरूसँग गरेको सन्धि सम्झौताहरू, भएका मिति र सम्झौताको अवस्था, संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । 

समिति सभापति विमला सुवेदीले समितिका निर्णय सुनाउँदै समिति सचिवालयलाई सो प्रतिलिपि उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिइन् । उनले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताको पूर्णरुप समिति सचिवालयमा सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताइन् ।

उनले भनिन्, “नेपाल सरकार पक्ष भइ विभिन्न मुलुकहरू वा  सरकारी संघ संगठनहरुसँग सन्धि सम्झौताहरू सम्झौता भएका मिति र सम्झौताको अवस्था संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण यस समिति सचिवालयमा उपलब्ध गराउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको  छ ।”

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्