site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई वर्षमा २५ सयभन्दा बढी नेपाली डिपोर्टमा परे, नेपालले २२६ विदेशीलाई निष्कासन गर्‍यो 

काठमाडौं । विभिन्न देशले पछिल्लो करिब दुई वर्षमा दुई हजार ५३८ जना नेपालीलाई डिपोर्ट गरेका छन् । अध्यागमन विभागका अनुसार, उनीहरुलाई ती देशले सन् २०२२ जनवरी १ देखि २०२३ डिसेम्बर ४ सम्मको अवधिमा डिपोर्ट (फिर्ता पठाएको) गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार, विदेशी राष्ट्रले डिपोर्ट गरेका नेपालीमा धेरैजसो भिसा समयभन्दा बढी समय बसेका (ओभर स्टे) र अवैध तरिकाले प्रवेश गर्न खोज्नेहरू छन् ।  सन् २०२३ जनवरी १ देखि डिसेम्बर ४ सम्मको अवधिमा विभिन्न देशले १ हजार ३७१ जना नेपालीलाई डिपोर्ट गरेका छन् ।

अघिल्लो वर्ष सन् २०२२ मा विदेशबाट डिपोर्ट भई नेपाल फर्कने नेपालीको संख्या १ हजार १६७ थियो । अघिल्लो वर्षभन्दा यसवर्ष डिपोर्ट हुने नेपालीको संख्या बढेको छ ।
 
सामान्यतया गम्भीर अपराध गरेका, गैरकानुनी रूपमा देशमा प्रवेश गरेका, आफ्नो भिसाको शर्त तोडेका वा सम्बन्धित देशमा रहन कानुनी हैसियत गुमाएका विदेशीहरूलाई प्रशासनिक रूपमा हटाउन वा देश निकाला (डिपोर्ट) गरिन्छ ।

Argakhachi Cement Island Ad

नेपालीहरु सबैभन्दा बढी खाडी राष्ट्र, युरोपेली राष्ट्र र अमेरिकाबाट डिपोर्ट हुने गरेका छन् ।  यता नेपालले पछिल्लो करिब दुई वर्षमा २२६ जनालाई डिपोर्ट गरेको छ ।  नेपालले सन् २०२२ मा १२६ जनालाई डिपोर्ट गरेको थियो । सन् २०२३ जनवरी १ देखि डिसेम्बर ४ सम्मको अवधिमा १०० जना विदेशीलाई नेपालबाट डिपोर्ट गरिएको अध्यागमनले जनाएको छ ।

नेपालले जाली राहदानी/भिसामा आउने, ओभरस्टे गर्ने, लागू औषध कारोबारमा संलग्न, बैकिङ कसुर गर्ने, यौन दुराचार, सुन चोरी पैठारी, ठगी, अपहरण तथा शरीर बन्धक/मानव बेचबिखन तथा ओसारपसार, कलबाइपास लगायतका कसूर लागेका विदेशीलाई डिपोर्ट गर्ने गरेको छ । 

“नेपालबाट डिपोर्ट हुने विदेशीमा सबैभन्दा बढी ओभरस्टे गर्ने र शंकास्द गतिविधि गर्नेहरु छन्,” अध्यागमन विभागका महानिर्देशक तामाङले बाह्रखरीसँग भने ।

अध्यागमन विभागको तथ्याङ्क अनुसार नेपालले सन् २०१४ देखि २०१९ सम्मको ६ वर्षको अवधिमा ओभरस्टे गर्ने मात्र २ हजार ३२९ जना विदेशीलाई देशबाट निस्कासन गरेको थियो ।  ओभर स्टे गरेका कारण सन् २०१४ मा १९० र २०१५ मा २७३ जना विदेशलाई निस्कासन गरिएको थियो । यस्तै, सन् २०१६ मा २६९ र २०१७ मा ४५५ जना विदेशलाई नेपालले निष्कासन गरेको थियो ।

अध्यागमनका अनुसार, सन् २०१८ मा ५६४ र २०१९ मा ५७८ जना विदेशीलाई निष्कासन गरिएको थियो । ओभरस्टे गरेका कारण नेपालबाट निष्कासित हुनेमा सबैभन्दा ठूलो संख्या चिनियाँको छ । सन् २०१४ देखि २०१९ सम्मको अवधिमा ओभरस्टे गर्ने १ हजार २४२ जना चिनियाँलाई नेपालले निस्कासन गरेको देखिन्छ । 

त्यही अवधिमा १८४ जना अमेरिकी, ९२ जना पाकिस्तानी, ८१ जना बेलायती, ६१ जना रुसी, ५५ जना अष्ट्रेलियन, ४८ जना उज्बेकिस्तानी, ४० जना क्यानडेली, ३४ जना दक्षिण कोरियालीलाई नेपालले निस्कासन गरेको थियो ।

त्यसरी नै २६ जना जर्मन, २५ जना फिलिपिनो, २४ जना बंगलादेशी, २४ जना उत्तर कोरियाली, २३ जना फ्रान्सेली, २३ जना जापानिज, १५ जना इजरायली, १५ मलेसियन, १३ जना युक्रेनीलाई पनि नेपालले निष्कासन गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्