site stats
बाह्रखरी :: Baahrakhari
देश
संयुक्त सैन्य अभ्यास ‘शान्ति प्रयास’ फागुनमा हुने, २२ देशका सैनिक सहभागी हुने

काठमाडौं । अमेरिकी सरकारको सहयोगमा नेपाली सेनाले आगामी फागुन ८ देखि २१ गतेसम्म संयुक्त सैन्य अभ्यास ‘शान्ति प्रयास’ आयोजना गर्ने भएको छ ।

“शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुने भएको छ,” नेपाली सेनाले सोमबार जारी विज्ञप्तिमा भनेको छ ।

शान्ति प्रयास आयोजना गर्न अमेरिकी सरकारको ग्लोबल पिस अप्रेसन इनिसिएटिभ (जीपीओआई)ले सहयोग गर्ने नेपाली सेनाले जनाएको छ ।

Argakhachi Cement Island Ad

संयुक्त सैन्य अभ्यासको पूर्वतयारी स्वरुप गत मंसिर २५ देखि २९ गतेसम्म पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा योजना सम्मेलन सञ्चालन गरिएको थियो । सम्मेलनमा नेपाल, अमेरिका, अष्ट्रेलिया लगायतका देशका प्रतिनिधि सहभागी थिए ।

अभ्यास शान्ति प्रयासको चौथो संस्करणमा नेपालसहित २२ देशका सैनिकहरूको सहभागिता रहने प्रारम्भिक योजना छ ।

अभ्यासमा स्टाफ ट्रेनिङ इभेन्ट, फिल्ड ट्रेनिङ इभेन्ट र क्रिटिकल इन्यबलर एण्ड क्यापाबिलिटी इनह्यान्समेन्ट गरी तीन किसिमका गतिविधि समावेश हुने नेपाली सेनाले जनाएको छ ।

यस्तै, सोही अवधिमा शान्ति कार्यसम्बन्धी क्षेत्रिय तालिम सेमिनार पनि आयोजना गरिनेछ ।

“यस प्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूको बारेमा सहभागी राष्ट्रका सैनिकहरु अवगत हुनुको साथै ती चुनौतीहरु सामना गर्न आवश्यक क्षमता एवं समान व्यवसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ,” नेपाली सेनाले विज्ञप्तिमा भनेको छ ।

नेपाल, बंगलादेश, श्रीलंका र संयुक्त राज्य अमेरिकाका सैनिकहरू सम्मिलित भई नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो ।

यस्तै, सन् २०१३ मा २३ राष्ट्रका ८५० सैनिकहरू र सन् २०१७ मा २९ राष्ट्रका १ हजार १३५ सैनिकहरू सम्मिलित भई यसको दोस्रो र तेस्रो संस्करण सञ्चालन भइसकेको छ

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्