
काठमाडौं । नयाँ गभर्नर आएपछि नेपाल राष्ट्र बैंक सेयर बजारप्रति उदार देखिएको छ । सरकारले डा. विश्व पौडेललाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेपछिको मौद्रिक नीतिको तेस्रो त्रैमास समीक्षामा सेयर धितो कर्जाको जोखिम भार २५ प्रतिशत विन्दु घटाएर १०० प्रतिशत कायम गरिएको छ ।
सेयर धितोको कर्जा जोखिम भार यसअघि १२५ प्रतिशत थियो । यसले सेयर बजारलाई केही राहत मिल्ने देखिएको छ । लगानीकर्ताले सेयर धितो कर्जाको जोखिम भार घटाउन माग गर्दै आएका थिए । केही वर्षयता सेयर बजारले गति लिन सकेको छैन ।
यस्तै, विद्यमान तरलताको अवस्था र पछिल्लो समय खुला बजार कारोबार उपकरणमा गरिएको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने भएको छ ।
लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा गरिएको पछिल्लो संशोधनका व्यवस्थालाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरिने भएको छ ।
यस्तै, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने समीक्षामा उल्लेख छ ।
नीतिगत दरलाई विद्यमान ५ प्रतिशत, तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको छ ।
विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत् राखिएको छ ।