site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भूकम्पपीडितलाई नबिल बैंकको एक करोड सहयोग

काठमाडौं । नबिल बैंकले भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामग्री उपलब्ध गराएको छ । 

प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतको लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका छन् ।

गत शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा पश्चिम नेपालमा ठूलो धनजनको क्षति भएको थियो । 

प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधिलगायत गरी एक करोड बराबरको राहत सामग्री उपलब्ध गराउने बताएका छन् । उनका अनुसार पहिलो चरणमा वितरण भइसकेको छ । 

“हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो”, उनले भने ।

राहत सामाग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुवेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा भइरहेको दैवी प्रकोप पीडितलाई राहत उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्