site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजार घटेको घट्यै, सन्तुलनका निम्ति ल्याइएका स्टक डिलर के गर्दै छन् ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक गएको बिहीबार १८४७.७० विन्दुमा बन्द भयो । यो विन्दु एक वर्षयताकै न्यूननजिक हो ।

पछिल्लो एक वर्षमा नेप्सेको न्यूनतम विन्दु १८१८.३१ छ । यो विन्दु गएको जेठ १ गते कायम भएको थियो । पछिल्ला दिनमा नेप्से घटेको हेर्दा यो विन्दुभन्दा तल झर्ने देखिएको विश्लेषक बताउँछन् ।

केही वर्षअघि १८ पार गरेर बजार ११ सयको हाराहारीमा बसेपछि नेपाल धितोपत्र बोर्डले स्टक डिलर सञ्चालन गर्न अनुमति दियो । बजार सन्तुलन हुने अपेक्षासहित नागरिक स्टक डिलर ल्याइयो । नागरिक लगानी कोषको सहायक कम्पनीका रूपमा ल्याइएको यो कम्पनीमा नेपाल टेलिकम, नेपाल पुनर्बिमा कम्पनीलगायत संस्थाको सेयर छ । तीन अर्ब ५० करोड रुपैयाँमा सुरु यो कम्पनीले अहिले पनि बजारमा काम गरिरहेको छ ।

बोर्डले कार्यविधि बनाएर यो कम्पनीलाई निश्चित कम्पनीको धितोपत्र खरिद गर्न दिएको छ । बजारमा अर्काे नबिल सेक्युरिटिज लिमिटेड पनि स्टक डिलरका रूपमा काम गर्न थपिएको छ । एक अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी भएको यो कम्पनीले बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा स्वीकृति पाएको हो । तर, बोर्डले पहिलो स्टक डिलर ल्याउँदा भनिएजस्तो स्टक डिलरहरूले बजारलाई सन्तुलनमा राख्न सकेका छैनन् ।

धितोपत्र बजारमा नागरिक र नबिल स्टक डिलरको कुल चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ हाराहारी छ । नेपालको सेयर बजारको कुल बजार पुँजीकरण भने साढे २८ खर्ब हाराहारी छ । सानो पुँजीका कारण पनि स्टक डिलरले अपेक्षित रूपमा काम गर्न नसकेको नागरिक स्टक डिलरका वरिष्ठ अधिकृत कृष्णजंग थापा बताउँछन् ।

उनका अनुसार स्टक डिलरले अहिलेको अवस्थामा बजारलाई सन्तुलनमा राख्न सक्दैनन् । “स्टक डिलर भनेर हामीलाई स्वीकृति दिइएको छ, तर अहिले जसरी ब्रोकरहरू आएका छन्, ती सबैले स्टक डिलरको काम गर्ने गरी आउनुपर्थ्यो,” उनले भने, “२८ खर्बको बजारमा अहिलेको पुँजी भएका स्टक डिलरले चाहेर बजारलाई स्टेबल बनाउँन सक्दैनन् ।”

नागरिक स्टक डिलरले ब्रोकरको पनि काम थालेको छ । अहिलेसम्म यो कम्पनीले ३०० को हाराहारीमा ग्राहक बनाएको छ । नेप्से र बोर्डले बनाएको निर्देशिकाअनुसार यो कम्पनीले काम गरिरहेको छ ।

धितोपत्र दोस्रो बजारमा हालसम्म २४१ कम्पनी दर्ता गरिएको छ । नागरिक स्टक डिलरले ७६ कम्पनीको सेयर खरिद गर्ने अनुमति पाएको छ । स्टक डिलरले कम्पनीको ‘पफर्मेन्स’ हेरेर सेयरमा लगानी गर्ने थापाको भनाइ छ ।

कम्पनीले आधारभूत अध्ययन गरेर मात्र बोर्ड र नेप्सेसँग सेयर खरिदको अनुमति माग्ने गरेको थापा बताउँछन् ।

यस्तै, नबिल सेक्युरिटिजले गएको भदौदेखि काम थालेको हो । मार्जिन ट्रेडिङ कार्यविधिले आफूहरूका काममा असर परेको नबिल सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत सुरेश देवकोटा बताउँछन् ।

स्टक डिलरले धितोपत्र ऐन, नियम र अरू प्रचलित कानुनअन्तर्गत रही काम गर्छन् । अस्वाभाविक उतारचढाव भई धितोपत्र बजार असन्तुलन, अस्थिर र तरलताको अवस्थामा विचलनको स्थिति आउँदा नियामक निकायको अनुमति लिई दोस्रो बजारमा ठूलो मात्रामा धितोपत्रको खरिद–बिक्री गरी सन्तुलन कायम राख्नु स्टक डिलरको मुख्य कार्य हो । तर, पछिल्लो समय यस्तो कार्य भएको छैन ।

बजारमा अहिले सप्लाई बढी भइरहेको छ । ठूलो पुँजी भएको बजारमा अहिलेका स्टक डिलरले मात्र काम गर्न नसक्ने थापा बताउँछन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्