site stats
बाह्रखरी :: Baahrakhari
खेल
न्युजिल्यान्डविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा साविक उपविजेता न्युजिल्यान्डमाथि अस्ट्रेलियाले पाँच रनको रोमाञ्चक जित निकालेको छ ।

शनिबार धर्मशालास्थित हिमाञ्चल क्रिकेट संघको रंगशालामा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३८९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३८३ रन बनायो ।

न्युजिल्यान्डका लागि रचिन रवीन्द्रले ११६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । रवीन्द्रले ८९ बलमा नौ चौका र पाँच छक्का प्रहार गरे । जिमी निशमले ३९ बलमा समान तीन चौका र छक्काको मद्दतले ५८ रन बनाए ।

ड्यारिल मिचेलले ५४, विली योङले ३२, डिभोन कोन्वेले २८, कप्तान टम लाथमले २१, ग्लेन फिलिप्सले १२ र ट्रेन्ट बोल्टले अविजित १० रन जोडे ।

अस्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिए । जोश हेजलउड र कप्तान प्याट कमिन्सले समान दुई र ग्लेन म्याक्सवेलले एक विकेट झारे ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो ।

अस्ट्रेलियाका ट्राभिस हेडले १०९ रन बनाए । उनले ६७ बलमा १० चौका र सात छक्का प्रहार गरे । हेडले पहिलो विकेटका लागि डेभिड वार्नरसँग १७५ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

वार्नरले ६५ बलमा पाँच चौका र ६ छक्कासहित ८१ रन थपे । ग्लेन म्याक्सवेलले ४१, जोस इङ्लिसले ३८, कप्तान प्याट कमिन्सले ३७ र मिचेल मार्सले ३६ रन जोडे । स्टेभन स्मिथ र मार्नुस लाबुसचेन्जले समान १८ रन बनाए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले समान तीन विकेट लिए । मिचेल स्यान्टनरले दुई र म्याट हेनरी र जेम्स निशमले समान एक विकेट लिए ।

प्रतियोगितामा चौथो जित निकालेको अस्ट्रेलिया ६ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । समान अंक भए पनि न्युजिल्यान्ड तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २२:११
प्रतिक्रिया दिनुहोस्