site stats
बाह्रखरी :: Baahrakhari
देश
कहालीलाग्दो ४८ घण्टा–  बंकरभित्रै छिरेर हमासले अन्धाधुन्ध गोली हानेपछि मारिए १० नेपाली 
इजरालयको बंकरमा रहेका नेपाली विद्यार्थी । जो उद्दारको पर्खाइमा छन्

काठमाडौं ।  असोज २० गते, शनिबारको दिन थियो ।  बिहान ६ नबज्दै दाङका विपिन सुवेदी उठिसकेका थिए ।  उनी बिदा मनाउन अघिल्लो दिन साथीहरु बसेको इजरायलको डोरेलोन फार्ममा पुगेका थिए । उनी बस्ने अपार्टमेट भने नेटीभोटमा थियो । 

उनी इजरायल पुगेको धेरै भएको छैन । यही असोज ८ र ९ गते दुईवटा समूहमा ४९ जना इजरायल गएका थिए ।  सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायका उनीहरु विद्यार्थी । यो समूहको लिडर थिए विपिन । 

उनीहरु सबै ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत ११ महिनाको इन्टर्नसिपमा इजरायल गएका थिए । समूहको लिडर भएको कारण विपिनलाई फार्ममा काम गर्न पर्दैनथ्यो । उनको काम अफिसमै हुन्थ्यो ।  

Argakhachi Cement Island Ad

नेपालबाट सँगै गए पनि उनीहरुलाई विभिन्न समूहमा विभाजन गरी अलग अलग फार्ममा राखिएको थियो । 

“हामी गफिएर यसै बसिरहेका थियौं आकाशमा रकेटहरु देखिन थाले । साइरनहरु बज्न थाले,” इजरायलको डारेलोनस्थित एउटा फार्मको बंकरभित्रबाट ह्वाट्सएपमा बाह्रखरीसँग कुराकानी गर्दै विपिनले भने, “रकेट यति धेरै आए कि आकाश नै झिलिमिली भएको थियो । तिहारको बेलाको आकाश जस्तो ।” 

साइरन बजेपछि उनीहरु सबै दौडदै बंकरभित्र छिरे । यो इजरायलको नियम नै हो ।  कतैबाट रकेट प्रहार भएको थाहा हुनेबित्तिकै प्रविधिको सहायताले साइरन अटोमेटिक रुपमा बज्न थाल्छन् ।  बज्ने बित्तिकै बंकरमा छिरिहाल्नु पर्छ । यो आफ्नै सुरक्षाको लागि हो । 

“गड्याङ गुडुङ पड्केका आवाजमात्रै सुनियो । यस्तो पनि हुँदो रहेछ भन्ने सोच्यौँ,” उनले सुनाए । 

बंकरभित्र बसेका उनीहरुलाई त्यतिबेला खासै डर लागेको थिएन । पड्केको आवाजमात्र सुनिएको थियो । बाहिरको दृश्य उनीहरुले देखेका थिएनन् ।  बिहान ८ बज्न लागेको थियो । अलुमिममा रहेका साथीहरुको भिडियो कल आयो । 

भिडियो अन के भएको थियो उनीहरुको सातो गयो । भिडियो झस्काउने खालको थियो । साथीहरु रकेट विस्फोट हुँदा लागेर घाइते भएका थिए । भुइँ रगताम्य थियो । 

“कसैको छातीमा त कसैको खुट्टामा लागेको थियो । रगत बगिरहेको थियो । साथीहरु चिच्याइरहेका थिए । गुहार मागिरहेका थिए,” हमास समूहले आफ्ना साथीहरुमाथि गरेको बर्बरता बाह्रखरीसँग सुनाउँदा विपिनलाई कठिन भइरहेको थियो । 

अनि उनी र उनका साथीहरुलाई थाहा भयो– रकेट प्यालेस्टिनको चरमपन्थी समूह हमासले प्रहार गरेको रहेछ । 

टिम लिडर भएर होला सँगै आएका तर छरिएर बसेका साथीहरुले उनैलाई फोन गर्दै थिए । सबै अत्तालिएका थिए– के गर्ने कसो गर्ने केही सोच्न सकेका थिएनन् ।  केही समयपछि उनले थाहा पाए– उनी बस्दै आएको नेटीभोटस्थित अपार्टमेन्ट त हमासले हानेको रकेट लागेर ध्वस्त भएको रहेछ । 

“म बिदा मनाउन साथीहरुकहाँ नआएको भए त मर्ने रहेँछु,” विपिनले लामो स्वास लिँदै भने ।

अलुमिम रहेका साथीहरुले उनलाई भिडियो पठाए ।  उनीहरु बसेको बंकरभित्रै बिस्फोट भएछ । उनीहरु भन्दै थिए, “हामीलाई बचाऊ ।”  बंकरभित्र बसेका विपिनका साथी कोही छटपटाइरहेका थिए, कोही चिच्चाइरहेका थिए भने कोही रोइरहेका । 

साथीहरु विपिनलाई बचाउन आऊ भन्दै थिए, तर जान सक्ने अवस्था थिएन ।  “साथीहरु छटपटाइरहेको हेर्दा कस्तो भयो होला । मेरा हात र ओठ कापिरहेका थिए । बोल्न खोज्दा बोली निस्केको थिएन,” उनले भने । 

शनिबार अपराह्न एक बजेसम्म अलुमिममा रहेका साथीहरुसँग हाम्रो कुरा भइरहेको थियो ।  त्यहाँ १७ जना थिए । घाइते साथीहरु पानी मागिरहेका थिए ।  दुई जना साथीहरु प्रमोद केसी र वीरेन्द्र चौधरी पानी लिन बंकरबाट बाहिर निस्किए । बंकर उनीहरु बस्ने घरभन्दा बाहिर थियो । 

जब उनीहरु पानी लिन बाहिर निस्के त्यति नै बेला हमासका लडाकु विपिनका साथीहरु रहेको बंकरभित्र छिरे । केही सोधेनन् ।  हातहतियारसहित छिरेका लडाकू देखेपछि उनीहरुले हात जोडी घुँडा टेकेर ज्यानको भिख मागेका थिए । तर ती लडाकुले उनीहरुमाथि अन्धाधुन्ध गोली वर्षाए । 

यही स्थानमा १० जना नेपाली विद्यार्थी मारिए । चार जना घाइते भए । पानी लिन गएको कारण दुई जनाको ज्यान जोगियो । 

“पानी लिन नगएको भए उनीहरु पनि मारिन्थे । पानी लिएर आउँदा १० जना साथी मरिसकेका थिए । घाइते चार जना साथी भूइँमा छट्पटाइरहेका थिए,” साथीको मुखबाट सुनेको त्यो कठोर घटना विपिनले सुनाए । 

मारिनेमा थिए– नारायण प्रसाद न्यौपाने, गणेशकुमार नेपाली, आशीष चौधरी, दिपेश राज विष्ट, आनन्द साह, राजेश कुमार स्वार्नकर, राजन फुलारा, पदम थापा, प्रवेश भण्डारी र लोकेन्द्र सिंह धामी । 

उक्त घटनामा एक जना नेपाली विद्यार्थी हराएका थिए ।  आइतबार उनी घाइते अवस्थामा डोगी भन्ने स्थानमा अस्पतालमा उपचार गराउँदै रहेको अवस्थामा भेटिएको उनले जनाए । 

शनिबार साँझ सात बजेतिर इजरायली सेना १० जना नेपाली मारिएको स्थानमा पुगेको थियो ।  उनीहरुले घाइतेलाई नजिकको अस्पताल लगे । मृत्यु भइसकेकालाई फ्रिजमा राखे । केही पनि नभएको दुई जनालाई स्थानीय इजरायलीको जिम्मा लगाए । 

घाइते अवस्थामा भेटिएका हिमाञ्चल कट्टेल, प्रविन डाँगी, धनबहादुर चौधरी र विधान सेजुवाललाई इजरायली सेनाले अस्पताल पुर्‍याएको थियो । प्रमोद केसी र वीरेन्द्र चौधरीलाई सुरक्षित स्थानमा राखेको थियो । 

“बाँचेका हामी हाम्रा साथीहरु मारिएको देखेपछि त्रसित भएका छौं । अनेक थरी भिडियो सामाजिक सञ्जालमा आउँछन् । तीनले झन् डर थपेको छ,” विपिनले भने । 

विपिनसँगै अहिले बंकरमा प्रमोद भट्ट, समर्पण आचार्य, निश्चल पाण्डे र अनुप अधिकारी छन् ।  उनलाई पिरलो अझ यो छ– उनीहरुभन्दा पनि अझ जोखिम स्थानमा अरु उनका साथीहरु छन् । 

शिवोलिममा ९ जना, गाजा बोर्डर नजिक राहामीन मुग्रावीमा ४ जना (छात्रा), सोरासिङमा ३ जना (छात्रा) र पामे तसाजमा ११ जना (तीनजना छात्रा) नेपालबाट सँगै आएका विपिनका साथीहरु छन् । 

हमासले आक्रमण गरेको दिन शनिबार उनीहरुले केही खान पाएनन् । पानीसमेत उनीहरुको साथमा थिएन ।  आइतबार नेपालबाट लगेको चाउचाउ र पानी खाएर दिन कटाएको उनी सुनाउँछन् । 

“केही खानै मन लाग्दैन । मनमा अनेक थरी कुराहरु मात्र खेल्छ । निद्रा पनि लाग्दैन । बाँचेर जान पाए हुन्थ्यो भन्ने मात्र छ,” विपिनले भने । 

सुरुमा त उनलाई आफ्नो व्यवस्था अरुलाई नसुनाउँ झैँ लागेको थियो ।  बंकरमा बसेको लामो समय बितिसक्दा पनि आफ्नो उद्धार नभएपछि अब बोल्नु पर्छ, आफ्नो कथा सुनाउनु पर्छ भन्ने उनलाई लाग्यो । 

“हामी बंकरमा छौं । करिब तीन दिन भयो यहाँ बसेको । हाम्रो एम्बेसीले उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसेका छौं । तर इजरायलमा रहेको हाम्रो दूतावासले खासै हामीलाई चासो दिएको अनुभव हामीले गरेका छैनौं,” नेपाली दूतावासले गरेको व्यवहारले उनलाई झन् दुःखी बनाएको छ ।

दूतावासमा फोन गरेर समस्या राख्दा पनि दूतावासका पदाधिकारी झर्केर जवाफ दिने गरेको उनले सुनाए । 

“पहिलो त फोन गर्दा उठाउँदैनन् । दोस्रो उठाइहाले हाम्रो अरु पनि काम हुन्छ भन्छन्,” इजरायलमा रहेको नेपाली दूतावासका पदाधिकारीले गरेको व्यवहार उनले सुनाए । काठमाडौंस्थित परराष्ट्र मन्त्रालयबाट भने निरन्तर उनलाई फोन गरेर अवस्थाको बारे बुझ्ने काम गरिरहेको उनले सुनाए ।

“हामीले १० जना साथी गुमाइसक्यौं, हामी आफू पनि गुम्छौँ कि भन्ने डर छ । १० जना साथीको त्यो चिच्चाहट, त्यो हारगुहार त्यो सबै चिज हाम्रो कानमा गुञ्जिरहेको छ । डर र त्रासले हामीलाई रातभर निन्द्रा लाग्दैन,” विपिनले भने । 

साथीहरुलाई जसरी नै आफूहरुलाई पनि बंकरभित्रै छिरेर गोली हानी मार्ने त होइनन् भन्ने डरले उनलाई सताइरहेको छ । 

त्रसित उनले भने, “मिसाइलबाट यो बंकर बच्छ भनेर नेपाल सरकारले सोचिरहेको होला । हामीलाई हाम्रा साथीहरुलाई जस्तै बंकरमा आएर मारे भने । हामी पनि त्यसै गरी मर्ने ।”  

अब आफूहरुको धैर्यता टुट्दै गएको उनी बताउँछन् । 

“हामी कुन अवस्थामा छौं । राति बस्दा आफ्नै स्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । स्वास रोकिएको फिल हुन्छ । प्लिज बिन्ती छ अब अरु हामी कुर्न सक्दैनौं । हामी बाँचेकाहरुलाई उद्धार गरी सुरक्षित एकै ठाउँमा लगेर राखिदिनोस्,” विपिनले सरकारसँग अनुरोध गरे ।
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्