site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निजी चार संस्थाका कर्मचारी र तिनका परिवारले नेपाल एयरलाइन्समा यात्रा गर्दा १५ प्रतिशत छुट पाउने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले निजी क्षेत्रका संस्थासँग सम्झौता गरेको छ ।

निगमले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र राष्ट्रिय व्यावसायिक पहल (नेसनल बिजनेस इनिसिएटिभ) गरी चारवटा संस्थासँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार संस्थामा आबद्ध पदाधिकारी, सदस्यहरू, कर्मचारी र तिनका परिवारले यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने, उक्त संस्थाहरूले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा निगमको प्रवर्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, नेपाल उद्योग परिसंघका तर्फबाट युवा उद्यमी मञ्च कोसी प्रदेशका अनमोल प्रधान, नेपाल च्याम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल र राष्ट्रिय व्यावसायिक पहल (नेसनल बिजनेस इनिसिएटिभ) का तर्फबाट अध्यक्ष कुशकुमार जोशीले हस्ताक्षर गरेका छन् ।

यस सहकार्यले उक्त संस्थासँग आबद्ध व्यवसायी सदस्यहरू लाभान्वित हुने तथा निगमको व्यापार व्यवसाय समेत प्रवर्धन हुने निगमको अपेक्षा छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्