site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीको एमाले नेतृत्वमा ओलीले चाहेकै प्यानल, केन्द्रको घेराबन्दीले ‘अभिमन्यू’ बने ढकाल !

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार बिहान विराटनगर विमानस्थल ओर्लिए । भीआईपी कक्षमा ओलीसँग कुराकानी गर्न गएका पत्रकारले प्रश्न गरे, “विनोद ढकाललाई अभिमन्यू बनाउनु भयो हैन ?”

एमाले कोसी प्रदेश अधिवेशन सन्दर्भमा आएको आकस्मिक प्रश्न सुनेपछि ओली मुस्कुराए । त्यसपछि आफ्नै शैलीमा जवाफ दिए “अभिमन्यू बनाउन उहाँ केटाकेही हो र ?”

घनश्याम खतिवडाको अध्यक्षतामा निर्वाचित कमिटीको पदस्थापन कार्यक्रममा सहभागी हुन उनी विराटनगर आएका हुन् । शुक्रबार अधिवेशन उद्घाटन गर्दै ओलीले ‘मिलेर जान र सहमतिमा नेतृत्व चयन गर्न’ निर्देशन दिएका थिए ।

Argakhachi Cement Island Ad

तर, ओलीकै गृह प्रदेशमा सर्वसम्मतिमा नेतृत्व चयन गर्न गरेको पहल सफल भएन । निर्वाचनबाट नेतृत्व चयन भयो । पार्टीले समूहगत रुपमा निर्वाचन नगर्न दिएको निर्देशन कार्यान्वयन भएन ।

अधिवेशनको अघिल्लो दिन पार्टीको रणनीतिबारे एमाले कोसी प्रदेशका इन्चार्ज रघुवीर महासेठले ‘प्यानलगत’ निर्वाचन नहुने घोषणा गरेका थिए । तर, महासेठको भनाइविपरीत ‘प्यानल’कै आधारमा चुनाव भयो ।

निर्वाचनबाट ओली चाहनाका घनश्याम खतिवडा निर्वाचित भए । प्रतिस्पर्धी विनोद ढकाल पराजित बने । त्यसो त, ढकाल पनि ओलीकै विश्वास पात्र मानिन्थे ।

परिणामका सन्दर्भमा ढकालले भने, “कहिलेकाहीँ हारेर पनि जितिन्छ । परिणामलाई मैले जितको रुपमा लिएको छु ।”

ढकाल केही समय अघिसम्म मोरङमा ओलीका ‘पिलर’ मानिन्थे । तर, यसपालि ओलीले ढकाललाई अध्यक्ष नबनाउने अडान लिएका थिए ।

ओलीले वितगमा माधवकुमार नेपालसँग निकट रहेका खतिवडालाई प्रदेश अध्यक्ष बनाउने ‘लाइन’ दिएको एमालेका एक नेताले बताए । २०६६ सालमा मोरङ जिल्ला अधिवेशनमा ढकालसँग पराजित बनेका खतिवडाले त्यो पराजयको बदला लिँदै प्रदेशको बागडोर सम्हाल्ने मौका पाएका छन् ।

ढकाललाई केन्द्रीय नेतृत्वकै घेराबन्दी

प्रदेश अध्यक्षमा आकांक्षी बनेदेखि नै ढकाल केन्द्रीय अध्यक्षदेखि नेताहरुको घेराबन्दीमा परे । उनलाई उम्मेदवार बन्नबाट रोक्न सुरुमै ओलीले खतिवडालाई सर्वसम्मत् गर्न नेताहरुलाई निर्देशन दिएका थिए ।

‘‘ढकालले छाड्न नमानेपछि चुनाव भयो,” ढकालनिकटका एक नेताले भने, “केन्द्रीय महासचिवदेखि स्थायी कमिटीको ठूलो समूह उहाँविरुद्ध परिचालित थियो ।”

निर्वाचनको परिणाम पूर्णतः ढकालको विपक्षमा देखिएको छ । उनको प्यानलबाट उठेका कोही पनि पदाधिकारी निर्वाचित भएनन् ।

ढकाललाई अध्यक्ष निर्वाचित गर्न पार्टीका पूर्वसचिव भीम आचार्यबाहेक अरु खुलेनन् । “बरु खतिवडाको पक्षमा माहोल सिर्जना गर्न निर्वाचन हुने अवधिसमेत बढाउने काम गरियो । अब राति भयो, भोलि निर्वाचन गरौँ भन्दै प्रतिनिधिमा चुनाव नै हुँदैन भन्ने सन्देश दिन खोजियो,” ती नेताले भने ।

चुनाव टार्ने र समय लम्ब्याउने तयारी गरिएपछि ढकाल आफैँले झोँक्किदै ‘अहिले निर्वाचन किन नगर्ने ? राति भए पनि गरौँ’ भन्दै दबाब दिएका थिए ।

पछिल्लो समय ढकाल राष्ट्रपति विद्यादेवी भण्डारीनिकट भएको आरोप लगाइयो । एमालेमा गुटगत राजनीति नभएको भनिए पनि कोसी प्रदेशको निर्वाचनले गुटको सुरुआत भएको देखिएको छ ।

खतिवडा र उनको ‘प्यानल’लाई निर्वाचित गराउन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य तथा कोसी प्रदेशका पूर्वमुख्यन्त्री शेरधन राई, पूर्वसंघीयमन्त्री शिवमाया तुम्बाहाम्फे, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सक्रिय थिए ।

हक्की स्वभावका ढकालसँग ओली तत्कालीन नेकपा नेतृत्वको सरकार हुँदैदेखि सन्तुष्ट थिएनन् । एक नेताका अनुसार, त्यतिबेला बालकोटमा भेटघाट गर्दा नेकपाभित्रको विवाद र प्रचण्डसँगको ध्रुवीकरण मिलाउन ढकालले ओलीलाई ‘कि प्रधानमन्त्री, नत्र पार्टी अध्यक्ष छाड्न’ सुझाएका थिए । त्यसबेलादेखि ढकालसँग ओली सशंकित भएका हुन् ।

खतिवडा पक्षको प्यानल नै विजयी

एमाले कोसी प्रदेश अध्यक्षमा घनश्याम खतिवडासहित उनको ‘प्यानल’ नै निर्वाचित भएको छ । उपाध्यक्षमा टीकाराम चेम्जोङ, सचिवमा राजकुमार भण्डारी, उपसचिवमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भए ।

खुला भूगोलतर्फ झापाबाट गणेश पोखरेल, एकराज कार्की, बसन्त बानियाँ, देवकुमार राई, घनश्याम अधिकारी, सोमनाथ पोर्तेल, होमबहादुर थापा, राजकुमार थापा, गजेन्द्र ताम्ली, सन्तलाल मेचे, बेनु शिवाकोटी, अमर शिवाकोटी, अम्बिका खनाल, चन्द्र शेर्मा, लक्ष्मी राई, कुमार भुजेल र लोकबहादुर धिमाल निर्वाचित भए ।

यसैगरी, महिला भूगोलतर्फ पवित्रा महतरा, मञ्जु प्रसाई, सुमित्रा भण्डारी, मिरा भूर्तेल, निर्मला पाठक, कमला थापा मगर, कमला आचार्य र इन्दिरा बस्नेत निर्वाचित हुँदा दलिततर्फ मोहन विक र भोला परियार विजयी भए । 

यस्तै, मजदुरतर्फ निर्मला परियार, युवातर्फ अनिता कन्दङ्वा, नीता घतानी, सुमन नेम्वाङ र सुशील राई निर्वाचित भएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्