site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चीनले जारी गरेको नयाँ नक्साबारे के भन्छन् यी तीन सांसद ?

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको नक्साबारे अन्तर्राष्ट्रिय जगत्‌लाई जानकारी नगराएकाले चीनले नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा नसमेटेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले तत्कालीन संसद्ले सर्वसम्मतरूपमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमिमा समेटेर नक्सा पास गरेको भए पनि अन्तर्राष्ट्रिय जगत्‌लाई जानकारी नगराएको बताए । उनले नेपालकै कमजोरीका कारण सो भूमि नेपालमा समेटिएको नक्सा अन्तर्राष्ट्रिय जगत्‌ले जारी नगरेको बताए । उनले सरकारलाई नेपालको आधाकारिक नक्साबारे अन्तर्राष्ट्रिय जगत् र सम्बन्धित निकायहरूमा पठाउन माग गरे ।

Argakhachi Cement Island Ad

कांग्रेसका अर्का सांसद चन्द्र भण्डारीले संसद्‌बाट सर्वसम्मतरूपमा नक्सा पास गरे पनि पठाउने बेलामा दराजमा थन्क्याइएको बताए । उनले नेताहरूले जनतासँग एउटा कुरा र काम अर्को गर्नेगर्दा यस्तो परिस्थिति आएको बताए । उनले प्रधानमन्त्रीले यस विषयमा चिनियाँ राष्ट्रपतिसँग संयमतापूर्वक कुरा गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपालले पारित गरेको नेपालको नक्सा छिमेकी देशहरूले स्वीकार गर्नुपर्ने बताए । उनले चीनले जारी गरेको नक्साको सन्दर्भमा नेपाल सरकारले पत्राचारगरी स्पष्टीकरण सोध्नुपर्ने बताए ।

उनले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग यस विषयमा खुट्टा नकमाई उत्तर माग्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्