site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माथिल्लो तहका कर्मचारीसँग चर्को बोलेको भन्दै धितोपत्र बोर्डका अध्यक्षले काटे कर्मचारीलाई पत्र !

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उपकार्यकरी निर्देशक रूपेश केसीलाई धितोपत्र बोर्डको कर्मचारी सेवा शर्त नियमावली देखाएर कारबाहीको प्रक्रिया अगाडि बढाएका छन् ।

आफूभन्दा माथिका कर्मचारीसँग चर्को बोलेको आरोप केसीमाथि छ ।  अध्यक्ष हमालले केसीलाई भदौ ८ गते स्पष्टीकरण दिन पत्र लेखेका हुन् । 

उच्च व्यवस्थापनमा रहेका केही कर्मचारीहरूले बोर्डका उपकार्यकारी निर्देशक केसीले आफ्नो पदीय मर्यादा बिर्सिएर, अनुशासनहीन र आचरण विपरीत कार्य गरेको निष्कर्ष निकालेर भदौ ६ गते अध्यक्षसामु कारबाही माग गरेका थिए ।

सोहीअनुसारको निर्णय अध्यक्ष हमालले गरेका हुन् । उच्च तहका कर्मचारीको पत्रअनुसार उपकार्यकारी निर्देशक केसीलाई धितोपत्र बोर्डको कर्मचारी सेवा शर्त नियमावली बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
उक्त पत्र केसीलाई थम्याउन लगाएर अध्यक्ष हमाल भदौ ९ गते भियतनाम र कम्बोडिया भ्रमणमा निस्किएका थिए । 

के भएको थियो विवाद ?

केसीले बोर्डमा कार्यरत अन्य कर्मचारीको व्यक्तिगत विवरण माग गरेपछि विवाद चकिएको स्रोत बताउँछ । उनले कर्मचारीको विवरण मागेपछि उच्च व्यवस्थापनमा रहेका कर्मचारी र  बोर्ड अध्यक्ष रमेश हमालकोसमेत उपस्थितिमा भदौ १ गते बैठक बसेको थियो ।

सो बैठकमा उपकार्यकारी निर्देशक केसीले बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई ‘अपशब्द’ प्रयोग गरेको बोर्ड स्रोत बताउँछ । सोही विषयलाई लिएर केसीलाई कारबाही गर्न भदौ ६ गते प्रस्ताव ल्याइएको थियो । 

६ गतेको बैठकमा नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्त नियमावली, २०६८ को नियम १६५ को उपनियम (१) बमोजिम केसीले माग गरेको विवरण उपलब्ध गराउन नमिल्ने निर्णय गरिएको छ ।   १ गतेको बैठकमा केसीले ‘मलाई गाली गर्न बोलाएको ? म बस्दिनँ’ भन्दै आक्रोसित भएको निर्णयमा उल्लेख छ । 

कार्यकारी निर्देशक श्रेष्ठले प्रश्न सोध्दा उल्टै उनलाई तपाईँ कुन हैसियतले मलाई प्रश्न सोध्नुहुन्छ ? भनेर आक्रोशित भएको र उनले आफूभन्दा माथिका पदाधिकारीप्रति उचित आदर गर्नुपर्नेमा सो नभएको पनि उल्लेख छ । 

त्यस्तै उनले आफ्नो पदीय जिम्मेवारीसमेत पालना नगरेको तथा कार्यालयको संस्थागत सुशासनमा समेत प्रतिकूल प्रभाव पर्न गएको पनि निर्णयमा उल्लेख छ । केसीको उक्त व्यवहारका सम्बन्धमा उच्च व्यवस्थापनले ६ गते निर्णय गर्दा बोर्ड अध्यक्ष हमालले पाँच तलब वृद्धि रोक्का किन गर्नु नपर्ने भनी सफाइ पेस गर्न ८ गते पत्र दिएका हुन् ।

धितोपत्र बोर्डको कर्मचारी सेवा शर्त नियमावली बमोजिम केसीले सफाइ पेस गर्न बढीमा १५ दिनको समय प्राप्त गर्नेछन्, निजको जवाफ चित्त बुझ्दो नभएमा बढीमा पाँच तलब वृद्धि रोक्का हुने गरी कारवाही गर्ने तयारी छ ।

धितोपत्र बोर्डको कर्मचारी सेवा शर्त नियमावलीअनुसार यस प्रकारको कारवाहीलाई सामान्य कारवाही भनी व्याख्या गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्