site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमसीसी कार्यान्वयनमा गयो, व्याख्यात्मक टिप्पणी झुटको खेस्रो मात्र हो : केपी ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा गइसकेकोले अब व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले अनुमोदन गर्ने बेलैमा संसद्ले के गर्दा उपयुक्त हुने सोच्नुपर्ने थियो भन्दै अब कार्यान्वयनमा जान द्विविधा नभएको बताए ।

उनले भने, “अब यो कार्यान्वयनमा गइसकेको छ । अनुमोदन गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ छैन । यो झुटको खेस्रो मात्र हो ।”

सत्तापक्षले जनतालाई झुक्याउनको लागि मात्र व्याख्यात्मक टिप्पणी भनेको ओलीले आरोप लगाए । एससीसी अनुमोदन अघि व्याख्यात्मक टिप्पणी तयार गरिएको थियो । यसलाई एमसीसीले मान्ने सम्भावना आफूले नदेखेको ओलीले बताए ।

तत्कालीन अवस्थामा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले व्याख्यात्मक घोषणा सम्झौताको अंग हुन्छ भनेर धोका दिने काम गरिएको उनको आरोप छ ।

“एमसीसी परियोजनाका उपाध्यक्ष नेपाल आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले अनुमोदन भएको व्याख्यात्मक घोषणा सम्झौताको हिस्सा हुन्छ भन्नुभएको छ । यो के हो भनेर म प्रधानमन्त्रीलाई सोध्छु,” ओलीले भने, “सम्झौताभन्दा बाहिरका विषयबारे एमसीसीले मान्ने भन्ने हुन्छ जस्तो लाग्दैन ।”

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्