site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतको धौलीगंगा बाँध पुनः खोलिँदै, सतर्कता अपनाउन आग्रह
महाकाली नदी । फाइल तस्बिर ।

बैतडी । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलिगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार साउन ३२ गते बिहीबार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलिगंगाको बाँधका ढोकाहरू खोलिने भएका हुन् ।  

Argakhachi Cement Island Ad

भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको हो । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतले बर्खाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ । यसअघि भारतले गएको असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो ।

यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा दार्चुलामा अरबौंको क्षति भएको थियो । पछिल्लो समय  परियोजनाका ढोका खोल्दा नेपाली प्रशासनलाई पनि  पूर्वजानकारी दिने गरेको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्