site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको बताएका छन् । पार्टीको वाग्मती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, "सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रूपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।" 

Argakhachi Cement Island Ad

प्रधानमन्त्रीले आफूहरू सहि बाटो हिँडेको उल्लेख गर्दै भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सहि नभएको बताए ।

प्रधानमन्त्रीले आफूहरूको कदमले प्रतिक्रियावादीमा एउटा आतंक सिर्जना भएको बताए । उनले भने, "उनीहरूको षड्यन्त्र र घेराबन्दी जति भएपनि हामी आफ्ठ्यारोमा छैनौं । हामीले सुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढंगले काम गर्नुछ ।"

प्रधानमन्त्रीले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइँमा पुर्‍याउने बताए । उनले भने, "हामीले फेरि पार्टी बनाउन सक्यौं भने देशको आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौँ । यो पटक जनतामा विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ ।"

उनले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रूपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको बताए ।

केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको प्रश्न नभएको उनको धारणा थियो । बैठकले ती प्रश्नहरूको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरिछाड्ने बारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्