site stats
बाह्रखरी :: Baahrakhari
देश
जसपामा 'एक व्यक्ति, एक प्रमुख' जिम्मेवारी (विधानको पूर्णपाठ) 

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले 'एक व्यक्ति, एक प्रमुख' जिम्मेवारीको नीति लिने भएको छ । 

निर्वाचन आयोगमा अभिलेख भएको जसपाको विधानमा पदेनबाहेक माथिल्लो समितिका व्यक्तिहरू तल्लो समितिमा र तल्लो समितिका व्यक्तिहरू माथिल्लो समितिमा रहन नपाउने उल्लेख छ । 

“पार्टीले सामान्यत: एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीति लिने छ । पदेनबाहेक माथिल्लो समितिका व्यक्तिहरू तल्लो समितिमा र तल्लो समितिका व्यक्तिहरू माथिल्लो समितिमा रहन पाउने छैनन्,” विधानको धारा १३७ मा उल्लेख छ, “तर यसले समान तहको अन्य जिम्मेवारी लिन तथा जनवर्गीय तथा सामाजिक सङ्गठनहरूमा आवद्ध हुन कुनै बाधा हुने छैन ।”

Argakhachi Cement Island Ad

गत असार १० देखि १२ गतेसम्म काठमाडौंमा भएको विधान अधिवेशनबाट पारित जसपाको विधान आयोगले अभिलेखीकरण गरेपछि आजबाट लागु हुने जनाइएको छ । 

त्यस्तै, एउटै पदमा लगातार दुई कार्यकाल बढी उमेदवार हुन नपाउने व्यवस्था विधानमा गरिएको छ । 

“पार्टीको निर्वाचित जिल्ला समिति, प्रदेश/राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्षभन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उमेदवार हुन पाउने छैन,” विधानको धारा ६८ मा भनिएको छ ।

जसपाको विधान सम्मेलनमा ७० वर्षे उमेरहदको राख्ने प्रस्ताव गरिएको थियो । त्यो व्यवस्था भने नेताहरूको विरोधपछि हटाइएको नेताहरू बताउँछन् । 

जसपाले विधान अधिवेशनबाट झन्डा र लोगो फेरेको छ । 

त्यस्तै, विधानमा राष्ट्रिय महाधिवेशन/विशेष महाधिवेशन, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय निकायहरू, प्रदेश अधिवेशन, प्रदेश समिति, प्रदेश कार्यकारिणी समिति र प्रादेशिक निकायहरू, पहिचानमा आधारित प्रादेशिक संरचना र स्थानीय समितिको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्