site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रतिशोध साध्न पूर्वाग्रही भएर उडानमा रोक लगाइयो : सिम्रिक एयर
फाइल तस्बिर।

काठमाडौं । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिशोध साध्न पूर्वाग्रही भएर उडानमा रोक लगाएको जनाएको छ । हिसाब रुजु गरिरहेको अवस्थामा एकतर्फी ढंगले बिनासूचना उडानमा रोक लगाएको सिम्रिकको आरोप छ ।

काठमाडौंबाट गोर्खा जिल्लाको स्यालामाको लागि उडान भर्न अनुमति लिने सिलसिलामा महानिर्देशकको मौखिक निर्देशन भन्दै उडान भर्न तयार भएको जहाजलाई उडान अनुमति नभएको भनी एकाएक पूर्वाग्रही ढंगले रोक लगाएको समेत सिम्रिकको आरोप छ ।

सिम्रिकले डिजिटल मिडियामार्फ आफ्ना बारेमा भ्रमपूर्ण प्रचार गराएर संस्थाको मानमर्दन गर्ने नियोजित षड्यन्त्र गरिएको पनि आरोप लगाएको छ ।

“प्राधिकरणको निर्णयले संस्थामा पुगेको क्षतिको क्षतिपूर्ति तपाईँको संस्थासँग किन भराउन नपर्ने हो सोको को जानकारी अविलम्ब सात दिनभित्र कानुनी प्रक्रिया पूरा गरी गराइदिनु होला,” सिम्रिक एयरले क्यानका महानिर्देशलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, “साथै, तपाईँ र तपाईँको संस्थालाई पदको नियोजित दुरुपयोग गरेको आधारमा सम्बन्धित निकायमा किन उजुरी दिन नपर्ने हो, सोको जानकारी गराइदिनहुन अनुरोध गर्दछु ।”

यसअघि, बिहीबार एक सूचना निकाल्दै प्राधिकरणले आजदेखि लागु हुने गरी सिम्रिक एयरको सबै उडानमा रोक लगाएको थियो । प्राधिकरणलाई बाँकी बक्याैता तिर्न पटकपटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाइएको प्राधिकारणले जनाएको छ ।

सिम्रिकले आर्थिक वर्ष २०७९/०८० मा कुल ५५ लाख रुपैयाँ तिर्नुपर्ने थियो । उक्त बक्यौता तिर्न आग्रह गर्दा करिब आठ लाख रुपैयाँमात्र तिरेको थियो । बाँकी बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि नतिरेपछि आजदेखि सबै उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्