site stats
बाह्रखरी :: Baahrakhari
देश
डेंगीजस्तै लक्षण तर रिपोर्ट नेगेटिभ : के होला ? 

काठमाडौं । पछिल्लो समय डेंगी संक्रमणसँगै योसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढ्दै गएको छ । उच्च ज्वरो देखिए पनि डेंगी संक्रमण रिपोर्ट भने नेगेटिभ देखिएका केसहरू धेरै छन् । कतिपयमा भने ज्वरो मात्रै वा शरीरको, दुखाइ, छातीको दुखाइमध्ये एकमात्रै लक्षण देखिएर पनि परीक्षणमा पुग्ने गरेका छन् । 

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन डेंगीसँग मिल्दाजुल्दा लक्षण देखिए पनि बिरामीको परीक्षण रिपोर्ट नेगेटिभका केस वर्षैपिच्छे देखिने गरेको बताउँछन् । 

के हुन डेंगीका लक्षण ? 

Argakhachi Cement Island Ad

डा. पुनका अनुसार उच्च (१०४ डिग्री फेरनहाइटसम्म) ज्वरो आउनु, अत्यधिक टाउको दुखाइ हुनु, जोर्नीलगायत शरीरका विभिन्न भागहरू अधिक दुख्नु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु तथा छालामा रातो डाबर देखा पर्नु डेंगीका लक्षण हुन् ।

तर, यिनै लक्षण देखिएका कतिपय बिरामीमा डेंगी नेगेटिभ आएका केसहरू पनि छन् । जुन कुनै नयाँ वा कस्तो किसिमको संक्रमण हो भनी खोजी गर्नुपर्ने डा. पुन बताउँछन् । 

अधिकांश अस्पताल तथा प्रयोगशालाहरूमा डेंगीसँगै सीबीसी (कम्प्लिट ब्लड काउन्ट) परीक्षण अनिवार्य गरिएको छ । सीबीसी रिपोर्ट सामान्य भए पनि डेंगीका लक्षण 'डेंगी लाइक इलनेस' देखिएका बिरामी अस्पताल आइपुग्ने गरेको उनको अनुभव छ । 

अन्य संक्रमणमा पनि उस्तै लक्षण 

नेपालमा डेंगीसँगै लामखुट्टेबाट सर्ने अन्य रोगहरू पनि यही मौसममा फैलिने भएकाले डेंगीजस्तै लक्षण भए पनि बिरामीमा जापानिज इन्सेप्लाइटिस्, मलेरिया, कालाजारलगायतका अन्य संक्रमण हुन सक्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । 

यी सबै रोगहरूको परीक्षण प्रक्रिया फरकफरक भए पनि लक्षण भने मिल्दोजुल्दो हुने हुन्छ । डेंगी संक्रमण भएका व्यक्तिमा सामान्यत: लक्षण देखिएको ४८ घण्टाभित्र परीक्षण गराउँदा नतिजा पोजिटिभ आउने र बढीमा ८ देखि १० दिनभित्र ज्वरो निको हुने विशेषज्ञहरू बताउँछन् । 

वर्षायाम सकिनै लाग्दा सामान्य ज्वरो तथा रुघाखोकी, घाँटी दुख्नेजस्ता समस्या धेरै मानिसमा देखिने गरेको वरिष्ठ छातीरोग विशेषज्ञ डा.निरज बम बताउँछन् । यस्ता समस्या मौसमी फ्लू भएको र सामान्य अवस्थामा डराउनुनपर्ने उनको भनाइ छ । तर, यी लक्षण लामो समय देखिए औषधि खाँदा पनि कम नभए अस्पताल पुग्नुपर्ने डा. बम बताउँछन् । 

लगातार सात दिनसम्म पनि यी समस्या कम नभए विशेषज्ञको परामर्श लिनुपर्ने अन्यथा मौसमी फ्लुबाट नै निमोनिया भएर मृत्युसम्मको जोखिम रहने उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्