site stats
बाह्रखरी :: Baahrakhari
देश
जेलमा रहेका गुण्डानाइके सानुभाइले तिरेनन् १० हजार धरौटी, 'इन्काउन्टर'को डर
फाइल तस्बिर।

काठमाडौं । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका सानुभाइ भनिने गुण्डानाइके युवराज गुरुङ अदालतको धरौटी नतिरी जेल बसेका छन् । नुवाकोट ककनी–५ का गुरुङसहित आठजना २९ असारमा पक्राउ परेका थिए ।

ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि कुटपिट गरेको अभियोगमा नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का कमल तामाङ, काठमाडौं टोखा नगरपालिका–१० का विक्रम अधिकारी, तनहुँ  व्यास नगरपालिका–२ का ३२ वर्षीय सुवास कायस्थ, सोही स्थानका ३२ वर्षीय सुरज कायस्थ र शेरलाल पौडेल प्रहरी थुनामा पुगेका थिए ।

Argakhachi Cement Island Ad

तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले युवराजबाहेक अन्यलाई जनही आठ हजार रुपैयाँ धरौटीमा छोड्दै युवराजलाई भने अदालत पेस गरेको थियो ।

युवराज पटक–पटक प्रक्राउ पर्दै छुट्दै गरेको ‘पटके’ आरोपी रहेको भन्दै उनलाई जिल्ला अदालत काठमाडौं पठाएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई अभद्र मुद्दामा १० साउनमा १० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

तर, उनी धरौटी रकम नतिरी जेल बसेका हुन् । त्योबाहेक बैंकिङ कसुर मुद्दामा एक दिन कैद, तीन लाख जरिवाना र १२ हजार रुपैयाँ क्षतिपूर्ति माग गरेको मुद्दामा समेत उनी फरार थिए । उनी जरिवाना र क्षतिपूर्ति समेत नतिरी डिल्लीबजार कारागारमा बसेका छन् ।

विभिन्न आपराधिक घटनामा संलग्न हुँदै आएका गुरुङ प्रहरीको इन्काउन्टरमा परिने भयले कारागारभित्र बसेको केही प्रहरी अधिकारीको भनाइ छ । उनी प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै गुण्डानाइके कुमार घैँटेका प्रमुख सहयोगीसमेत थिए ।

युवराजले यसअघि २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरेका थिए । सो अभियोगपछि फरार रहँदै हिँडेका सानुभाइलाई २०७२ मा प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामै पक्राउ गरेको थियो ।

सानुभाइकै समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जितबहादुर कार्कीमाथि समेत आक्रमण गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्