site stats
बाह्रखरी :: Baahrakhari
देश
देशभरमै सुनसरीमा डेंगीका सबैभन्दा धेरै संक्रमित

विराटनगर । सुनसरी जिल्लालाई पछिल्लो एक महिनाको अवधिमा डेंगी रोगले गाँजेको पाइएको छ । असारदेखि साउन दोस्रो सातासम्म आइपुग्दा यहाँ ह्वात्तै संक्रमण बढेको तथ्यांक छ ।

खासगरी सुनसरीको धरान उपमहानगरपालिका विगतजस्तै डेंगी रोगको ‘हटस्पट’ बन्न पुगेको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार समग्र कोसी प्रदेशका संक्रमितमध्ये सुनसरीका धेरै छन् ।

पछिल्लो सात महिनाको तथ्यांक हेर्दा पुस/माघमा फाट्टफुट्ट मात्र डेंगी रोगी फेलापर्ने गरेका थिए । असार/साउनमा यो संख्या ह्वात्तै बढेको छ । सुनसरीमा मात्र दुई हजार ५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

कोसी प्रदेशको समग्र तथ्यांक हेर्दा यो अवधिमा दुई हजार ९७१ जनामा डेंगी देखिएको छ । देशभर संक्रमण पुष्टि हुनेको संख्या चार हजार ६१९ छ ।

कोसीमा संखुवासभा र झापा समेत धेरै संक्रमित भएको जिल्लाको सूचीमा छन् । धरानमा दैनिक संक्रमित थपिने क्रम अझ बढेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको डेंगी क्लिनिकमा हालसम्म एक हजार ६१६ जनाको रगत परीक्षण गरिएको छ । तीमध्ये एक हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यहाँका चिकित्सक, नर्स र कर्मचारीहरूमा समेत डेंगीको संक्रमण देखिएको प्रतिष्ठानका प्रवक्ता डा.चूणामणि पोखरेलले जानकारी दिए । हालसम्म धरानमा डेंगी संक्रमणका कारण नौजनाको मृत्यु भएको तथ्यांक छ । स्थानीय र बाहिरबाट उपचारमा आएका समेतले ज्यान गुमाएका हुन् ।

रोगको संक्रमण अरू बढ्न सक्ने भन्दै धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सचेतना अपनाउन नगरवासीमा अपिल गरेको छ । उपमहानगरले डेंगी फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई गति दिइएको जनाएको छ ।

संक्रमण बढेसँगै धरानको बीपी प्रतिष्ठान परिसरभित्रको कोभिड अस्पतालमा डेंगी उपचारका लागि छुट्टै वार्ड सञ्चालन गरिएको छ । दैनिक परीक्षण क्लिनिक समेत सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्