site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाले निर्वाचन आयोगमा बुझायो विधान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको प्रमाणीकरण गरिएको विधान निर्वाचन आयोगमा बुझाएको छ ।

प्रमाणीकरण गरिएको विधानमा संघीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद पार्टीको मूल नारा हुने उल्लेख गरिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

Argakhachi Cement Island Ad

विधानमा गैरभौगोलिक विशेष प्रदेश समितिको संरचना हटाई केन्द्रीय सम्पर्क समिति बनाइएको र उमेरहद उल्लेख नगरिएको उनको भनाइ छ ।

१५१ सदस्यीय रहने केन्द्रीय समितिमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक रहने व्यवस्था गरिएको छ ।

पदाधिकारी तथा सदस्य निर्वाचनमा तीनजना निर्वाचित हुने पदमा एक महिलासहित सामाजिक समूहको समावेशी हुनुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एकतिहाइ महिलासहित विविधता प्रतिविम्बित हुने गरी खस आर्य, आदिवासी, मधेसी, थारु, दलित, मुस्लिम र अल्पसंख्यक समुदायका जातिय सामाजिक समूहबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । यसरी निर्वाचित गर्दा कम्तीमा ४० प्रतिशत युवा हुनुपर्ने व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्