site stats
बाह्रखरी :: Baahrakhari
देश
डेंगी संक्रमण भदौ र असोजमा उच्च हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

एक वर्षको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेंगी सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार असोजपछि भने डेंगी सङ्क्रमण क्रमशः कम हुँदै जानेछ । उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको बताए । गत वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भएर देशभरका ७७ जिल्लामा फैलिएको थियो ।

“बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ,” उनले भने, “निरन्तरको वर्षा र पानीले सङ्क्रमण अझै बढ्ने जोखिम छ ।” पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ ।

महाशाखाका अनुसार यही असार २७ गते एक हजार ३३७ सङ्क्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार ९३० पुगेको छ । महाशाखाका निर्देशक डा मरासिनीले कार्ययोजनाअनुसार डेंगी रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहको सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकेको जानकारी दिए ।

कार्ययोजनाअनुसार लामखुट्टे नियन्त्रणका लागि भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा र सञ्चार निकायसँग समन्वय गरिनेछ । यस्तै, लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ ।

वर्षायामसँगै डेंगी रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थान प्रचुर मात्रामा हुने हुँदा बहुपक्षीय समन्वय र सहकार्यबिना लामखुट्टे नियन्त्रण गर्न कठिन हुने, डेंगी पहिचानका लागि आवश्यक डेंगी किटको अभाव, लामखुट्टेको निगरानी गर्न इन्टोमोलोविष्ट तथा आर्थिक स्रोतको अभाव, स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिकालाई पैरवी हुन नसकेको उल्लेख गरिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २२:३६
प्रतिक्रिया दिनुहोस्