site stats
बाह्रखरी :: Baahrakhari
कला
कहाँ पुग्यो सारुक आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धान ?

काठमाडौं । अभिनेता सारुक ताम्राकारको आत्महत्याको ११ दिन पुगे पनि त्यसको कारणबारे अहिले पनि अनेक शंका तथा उपशंका भइरहेका छन् । उनलाई आत्महत्या गर्न वाध्य पार्ने केही पक्ष भएको भन्ने अड्कलबाजीहरू भइरहेका छन् ।

असार २१ गते बिहीबार राति ११ बजे उनले प्लास्टिकको पासो लगाएर आत्महत्या गरेका थिए । त्यसलगत्तै उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल टिचिङ लगिएको थियो । पोष्टमार्टमका क्रममा भने हत्या वा कुनै अन्य घटनाको शंका नदेखिएको शिक्षण अस्पतालले जनाएको छ । 

Argakhachi Cement Island Ad

“पोस्टमार्टमका क्रममा हत्या वा अन्य कुनै घटनाको शंका नलागेपछि थप परीक्षण गरिएन,” त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपालकुमार चौधरीले बाह्रखरीसँग भने ।

सारुकको आत्महत्यालाई लिएर सिने जगतभित्र तरंग सिर्जना भएको छ । त्यसैले केही नायिकाले उनी आत्महत्यासम्म पुग्नुको कारण के हो पत्ता लगाउन माग गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय काठमाडौंमा ज्यान सम्बन्धी कसुरमा उजुरी परेको छ । “हामीले उनको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाएका छौँ,” जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता सिताराम रिजालले भने, “फरेन्सिक ल्याबको रिपोर्ट आएपछि त्यसका आधारमा हामी अगाडि बढ्ने छौँ ।” 

एक नायिकासँगको सम्बन्धमा सारुक रहेको र उनकै कारण सारुक आत्महत्या गर्ने अवस्थानमा पुगेको धेरैले आरोप लगाइरहेका छन् । तान्त्रिक विद्या जानेका गुरुको सम्पर्कमा समेत उनलाई पु¥याइएको आरोप छ । तान्त्रिक गुरुकोमा पुगेर बुटी बाँधेको भने निर्देशक राजीव गुरुङले बताएका छन् ।

सारुकले ‘ह्यासट्याग माया’ सिनेमाको छायांकन गरेर फर्किएको साँझ आत्महत्या गरेका थिए ।  यो चलचित्रको निर्देशन राजीव गुरुङले गरिरहेका थिए । उनले सारुक डिप्रेसनमा नरहेको पनि स्पष्ट पारेका छन् । 

यता, प्रहरीले भने फरेन्सिक ल्यावबाट रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्