site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिपक्षीका प्रश्न र प्रधानमन्त्रीको जवाफ

काठमाडौं । एक सातादेखिको संसद् अवरोध आजबाट हटेको छ । प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को विपादास्पद अभिव्यक्तिको विरोध गर्दै राजीनामा दिनुपर्ने बटमलाइन राखेको थियो । एमाले आफ्नो अडानबाट पछि हटेसँगै संसद्को अवरोध हटेको हो ।

आजै सिंहरबारमा भएको प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा प्रधानमन्त्रीले स्पष्टीकरण दिएर अवरोध हटाउने सहमति भएको थियो । 

सदनमा प्रधानमन्त्रले जवाफ दिनुअघि प्रतिपक्षी तीन दलका नेताहरूले प्रश्न सोधेका थिए । बैठकमा एमालेको तर्फबाट सांसद गोकुल बाँस्कोटा,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने  र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रश्न गरेका थिए । 

Argakhachi Cement Island Ad

121688987768.jpg

प्रधानमन्त्रीले उनीहरूको प्रश्नको जवाफ दिए । उनले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा बोलेको आफ्नो अभिव्यक्तिबारे प्रस्टीकरण दिएका हुन् । 

त्यसक्रममा प्रधानमन्त्रीले ११ वर्षअघि छोरी ज्ञानु दाहाल बिरामी भएका बेला प्रितम सिंहले लगाएको गुन र भावनात्मक विषय स्मरण गर्दा त्यसको गलत अर्थ लागेको बताए ।

“राम्रा काम सम्झँदै गर्दा उहाँले त्यसबेला भनेको भावनात्मक कुरा सम्झिएँ । उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ, मसँग यसो भन्नुभएको थियो भनेर सम्झिएँ । र, त्यही कुरा मैले त्यहाँ भनेको हुँ,” उनले भने, “प्रधानमन्त्रीका रूपमा मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । तर, मैले त्यो छोरी उठ्न नसक्ने भएको बेड सम्झिएँ । म प्रधानमन्त्री भएर भन्दा पनि ज्ञानुका बा भएर बोलेको थिएँ ।”

उनले प्रधानमन्त्री आफूलाई सदनले नै बनाएको पनि बताए । 

अरू सवाल–जवाफ यस्तो छ  

एमाले सांसद बाँस्कोटाले प्रधानमन्त्रीले प्रधानमन्त्रीले आफ्नो भनाइ स्पष्ट रूपमा नराखेको आरोप लगाएका थिए । उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेका थिए । 

जवाफमा प्रधानमन्त्रीले आफूले स्पष्टीकरणका लागि समय माग गर्दा पहिले नै राजीनामा मागिएको भन्दै आपत्ति जनाए । उनले बाँस्कोटाको जवाफमा 'प्रतिपक्षले माग्दैमा राजीनामा दिनुपर्ने हो ?' भन्दै प्रतिप्रश्न गरे । 

“किन तीन दिनसम्म यो सदन अवरुद्ध गरियो मैले बुझ्न सकेको छैन । प्रतिपक्षले राजीनामा माग्न बित्तिकै दिनुपर्ने हो ?,” उनले सोधे , “यही हो लोकतान्त्रिक विधि ? प्रतिपक्षले प्रश्न उठाउन बित्तिकै प्रधानमन्त्रीलाई सम्मानित सदनसमक्ष स्पष्टीकरणको मौका पनि दिन नहुने हो ?”

त्यस्तै, बाँस्कोटाले सरकारले मिटर ब्याजको अध्यादेशको विषयमा भ्रम छर्न खोजिएको आरोप लगाएका थिए । मिटर ब्याजीको विपक्षमा रूपमा एमालेलाई देखाएर प्रधानमन्त्रीको सचिवालयबाट वक्तव्य जारी गरेर औँला उठाइएको भन्दै बाँस्कोटानले आक्रोश व्यक्त गरेका थिए ।

त्यस्तै, लामिछाने र लिङ्देनले पनि मिटर ब्याजको अध्यादेश किन ढिलो ल्याएको भन्दै प्रश्न गरेका थिए । 

161688987774.jpg

जवाफमा प्रधानमन्त्रीले मिटरब्याजको अध्यादेश निष्क्रिय हुनु र सदन अवरोध हुनु संयोगमात्रै भएको बताए ।। “मिटरब्याजीलाई संयोग मात्र भन्नु सत्ता गठबन्ध भित्र पनि मिटर ब्याजी ६०औँ दिनमा किन पुर्‍याइयो भनेर मैले प्रश्न उठाएको छु,” उनले भने, “पहिल्यै किन गरिएन र लास्टमा किन आइपुग्यो ? कहीँ न कहीँ हाम्रो कार्यशैलीमा त्रुटि छ ।”

रास्वपा सभापति लामिछनेले आफ्नो पार्टी स्वतन्त्र अस्तित्वका साथ उभिएको बताएका थिए । प्रमुख प्रतिपक्षीले 'जे बोल्यो त्यही नै रास्वपाको भाष्य'का रूपमा व्याख्या गरिने गरेको भन्दै उनले आपत्ति जनाए । उनले संसद्लाई तीन दलले बन्धन बनाउन खोजेको पनि बताए ।

जवाफमा प्रधानमन्त्रीले अरू पनि दल रहेको स्मरण गराएको बताए ।

प्रचण्डले बेलाबेला आपत्तिजनक अभिव्यक्ति दिने गरेको लामिछानेको भनाइ थियो । 'छिमेकी राष्ट्रले प्रधानमन्त्री बनाउने', 'लडाकुको विषयमा छुट्टाछुट्टै कुरा गर्ने' गरेको भन्दै उनले आफ्नै भनाइमा स्पष्ट हुन प्रधानमन्त्रीलाई सुझाएका थिए ।

जवाफमा प्रधानमन्त्रीले कुन प्रसंगमा हो भन्ने कुरमा हेक्का राख्न अनुरोध गरे । 

“मैले हिजो जे बोलेँ । अदालतसम्म पनि पुगेँ, मेरा बेलाबेलाका बोलिहरू । मलाई त्यस्को हेक्का त छ । तर, हृदय छामेर इमान्दारिताको साथ भन्यो भने प्रचण्डले षड्यन्त्र गरेर भनेको होला त ती भावहरू ? शब्दहरू ? तीन हजार, पाँच हजार, सत्र हजार ?,” प्रधानमन्त्रीले भने, “कुन प्रसंगमा केका निम्ति भन्यो भन्दै हामीले हेक्का राख्नुपर्ने हो कि होइन ? यो मेरो प्रश्न मात्रै हो । ”

राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीलाई नैतिकता देखाएर राजीनामा दिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले आफूले 'दुईपटक प्रधानमन्त्रीबाट कुन आधारमा राजीनामा दिएको हो' भन्ने पढ्न सुझाए । 

“नैतिकताको कुरा भन्नुभयो । ठिक छ । नैतिकताको आधारमा कसले कति गर्‍यो भनेर विगत हेर्नुभयो माननीय राजेन्द्रजी दुई कार्यकाल भयो क्यारे तपाईंको । पहिला पहिलाको यसो हेर्नुभयो भने दुईदुई पटक मैले राजीनामा दिँदा तपाईंले पढ्नुभएको छ ? कुन आधारमा दिएँ ?,” प्रधानमन्त्रीले भने । 

उनले आफूले यसअघि दुईपटक नैतिकताका आधारमा नै राजीनामा दिएको बताए । 

Rajendra King1688995877.jpg

“म माननीय सदस्यलाई छातीमा हात राखेर नैतिकता कसले देखायो यो देशमा, कसले देखाएन त्यसको विवेचना गर्न हार्दिक अनुरोध गर्न चाहन्छु् । दुवै पटक नैतिकताको धरातलमा टेकेर नै मैले छाडेको हो । तपाईंले भनेर त म गर्न सक्दिनँ । मेरो अन्तर आत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ,” प्रधानमन्त्रीको भनाइ थियो । 

प्रतिपक्षीले माग गर्दै सत्तापक्ष भागे देशको हालत के हुन्छ भन्दै उनले प्रश्न पनि गरे ।  

जवाफ दिने क्रममा प्रचण्डले सरकार भ्रष्टाचारीलाई उम्कन नदिने र दोषी नफोसोस् भन्नेमा सतर्क रहेको बताएका थिए । उनले भ्रष्टाचारको जरासम्म पुग्ने गरी काम गर्नुपर्ने भन्दै सबैलाई त्यही अनुसार अघि बढ्न आह्वान गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्