site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
यात्रुको गुनासोमा निगमको स्पष्टीकरण : एयरलाइन्ससँग रिपोर्ट दाबी गरेको छैन 

काठमाडौं । नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमा यात्रुले गरेको गुनासोको स्पष्टीकरण दिएको छ । शनिबार दामु दाई (छविलाल भण्डारी) नामका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा व्यागेजमा रहेको २५ प्रतिशत सामान हराएको गुनासो गरेका थिए । 

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ । गत असार १५ गते भण्डारीले कोरियाबाट आउँदा विमानस्थलमा सामान हराएको र दुईवटा मोबाइल ल्याएबापत भन्सार तिर्नु परेको भन्दै गुनासो गरेका थिए । 

यात्रुको गुनासो आएपछि सम्बन्धित विषयमा छानबिन गरिएको निगमले जनाएको छ । सामान हराएको भनि गरेका गुनासोमा छानबिन गर्दा यात्रुले नियामानुसार ब्यागेज क्लेम डेक्समा सम्बन्धित एयरलाइन्ससँग दाबी रिपोर्ट नगरेको पाइएको निगमले जनाएको छ । 

मोबाइल ल्याएबापत भन्सार तिर्नुपरेको गुनासोको सम्बन्धमा उक्त विषय निगमको कार्यक्षेत्रअन्तर्गत नपर्ने निगमले जनाएको छ । निगमले ब्यागेज प्राप्त नभएको अवस्थामा विमानस्थलमा रहेको ब्यागेज क्लेम डेस्कमा रिपोर्ट गर्न आग्रह समेत गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्