site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन वर्षमा काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सकिन्छ : मन्त्री ज्वाला
फाइल तस्बिर।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री ज्वालाले सो दु्रतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्ब बजेट व्यवस्था गरिएको पनि बताए ।

मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा करिब ३७ अर्ब घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको उनले स्पष्टीकरण समेत दिए । मन्त्री ज्वालाले सो द्रुतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि संसद्लाई जानकारी गराए । 

“नेपाल सरकारको निर्णयअनुसार काठमाडांै–निजगढ द्रुतमार्गको निर्माण कार्य नेपाली सेनाद्वारा द्रुतगतिमा अघि बढिरहेको छ । अबको निर्धारित समयमा निर्माण कार्य सक्नका लागि आगामी आर्थिक वर्षमा २२ अर्ब बजेट विनियोजन पनि गरिएको छ,” उनले भने, “२०८३ साल भित्र निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गरिने कुरा यो सदनलाई म जानकारी गराउन चाहन्छु ।”

मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन र गुणस्तरीय बनाउन आफू लागिपर्ने समेत बताए ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्