site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कृषिमन्त्री भन्छन्– दुग्ध विकास बोर्डको काममा सरकार सन्तुष्ट नभएकाले खारेज गरियो
फाइल तस्बिर।

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन् । आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. भुसालले सरकारले जुन उद्देश्य लिएर बोर्डको स्थापना गरेको थियो, बोर्डले त्यो उद्देश्यअनुसार काम गर्न नसकेको बताए ।

दुग्ध विकास बोर्ड दूधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको उनले बताए । बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको उनले बताए ।

सरकार दूध विकासको पक्षमा रहेको भन्दै दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट काम गर्ने बताए । दुग्ध विकास बोर्ड खारेज गरेर सरकारले दूध विकासबाट हात झिक्न नखोजेको भन्दै उनले पहिलाको भन्दा अझ बढी विकास गर्ने पक्षमा रहेको बताए ।

भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताउँदै उनले सरकार नश्ल सुधार गरी दूधको विकास गर्नेतर्फ प्रतिवद्ध रहेको बताए । बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरु आँत्तिहाल्नु पर्ने अवस्था नरहेको भन्दै उनले सरकारले दुग्ध विकास गर्न कै लागि बोर्डको पुनर्संरचना गर्न खोजेको बताए । उनले बोर्ड खारेज गर्ने विषय मन्त्रालयबाट गएको प्रस्ताव नभएको पनि बताए ।

“सरकारले दूध विकास गर्न नचाहेको भए अस्ति भर्खर मुर्रा राँगा किन ल्याउँथ्यो होला र ? दूध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागेको हो । नश्ल सुधारको कुरा व्यवसायीहरुले भन्नुभएको छ । विकसित नश्ल सुधार ल्याउने काम सरकारले गरिरहेको छ,” उनले भने, “कृषिलाई कसरी अझ राम्रो गर्न सकिन्छ भन्ने कुरा हो । कामको हिसाबले भन्ने हो भने दुग्ध विकास बोर्डले गरेको कामसँग सरकार सन्तुष्ट छैन ।”

कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने प्रस्ताव फिर्ता लिनुपर्ने बताए । जीडीपीमा आठ प्रतिशत योगदान दिने क्षेत्रको बोर्डलाई खारेज गर्न नहुने बताउँदै उनले सुधार गरेर सशक्त बनाउनुपर्नेमा खारेज गर्ने सूचीमा राख्नु उचित नभएको बताए ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्