site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योग परिसंघको अध्यक्षमा अग्रवाल, नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औँ वार्षिक साधारणसभाबाट अग्रवाललाई अध्यक्षमा चयन गरिएको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका उनी परिसंघको विधानानुरूप स्वतः अध्यक्षमा चयन भएका हुन् ।

अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसंघको उपाध्यक्ष बनेका थिए ।

काठमाडौंमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा छन् । आरएमसी गु्रपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायत क्षेत्रमा आबद्ध छन् ।

परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ अध्यक्ष अग्रवाललाई शपथग्रहण गराउँदै पदभार हस्तान्तरण गरे ।

शनिबार राजधानीमा आयोजित वार्षिक साधारणसभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदूषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशीष अग्रवाल जजोडिया, मनीष खेम्का, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशीष गर्ग, सपना सापकोटा, वीरेन्द्रराज पाण्डे निर्वाचित भए ।

यस्तै, लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारदा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिंघानिया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल र आदित्य संघाई निर्वाचित भए ।

निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मत रूपमा सात उपाध्यक्ष चयन भए । परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भए । अमित मोर र भीम घिमिरे पहिलोपटक परिसंघको उपाध्यक्ष बनेका हुन् ।

यसैगरी, परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, गोकुल भण्डारी र छाया शर्मा मनोनीत भए ।

अध्यक्ष अग्रवालले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई शपथग्रहण गराए ।

त्यसअघि, परिसंघ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष अग्रवालले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्‍याउन सक्रिय रूपमा लाग्ने बताए ।

उनले सरकारका छिटोछिटो परिवर्तन हुने नीति–नियम, चर्को ब्याजदर, समग्र मागमा आएको कमी, उत्पादनमा कमी, घट्दो मनोबल र नयाँ लगानीका योजना स्थगनलगायत निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि प्रभावकारी रूपमा प्रस्तुत हुने बताए ।

उनले निवर्तमान अध्यक्ष अग्रवाललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।

साधारणसभामा विभिन्न ६ विधामा अवार्ड प्रदान गरिएको थियो । सबैभन्दा सक्रिय उपाध्यक्षमा रोहित गुप्ता चुनिए । सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्यमा अनलराज भट्टराईले अवार्ड पाए । परिसंघले आयोजना गरेका कार्यक्रमहरूमध्ये वुमन लिडरसिप समिट, परिसंघअन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समितिको अवार्ड पर्यटन समितिले प्राप्त गर्‍यो ।

यस्तै, सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड लुम्बिनी उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड उपनिर्देशक रवि प्रजापतिले प्राप्त गरे ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्