site stats
बाह्रखरी :: Baahrakhari
कला
रविना देशराजको बिहे गराएका छोरा भन्छन्– आमाको खुसी खोजेका हौँ

काठमाडौं । चलचित्र ‘महापुरुष’को कथाको आइडियाका लागि निर्देशक प्रदीप भट्टराई महिनौँ घोत्लिए । उनीसँगै अरू पनि थिए, कथाको आइडियाका लागि बस्ने । एकदिन उनलाई अचानक आडिया फुर्‍यो– गाली गर्दा बाउको बिहे देखाइदिन्छु भन्ने समाजमा बाउकै बिहे गराउँछु भन्दै हिँड्ने कथामा सिनेमा बनाउने ।

प्रदीपका साथीहरूलाई आइडिया मन पर्‍यो । उनका निर्माता यो कथामा सिनेमा बनाउन लगानी गर्न तयार भए । अनि बन्यो– गत वर्षको कात्तिक ११ गते रिलिज भएको चलचित्र ‘महापुरुष’ ।

तर, यो त थियो– सिनेमाको कथा ।

कहीँ कतै कसैको जिन्दगीमा मेल खाए पनि सिनेमालाई 'कमर्सियल' बनाउन कल्पनाशीलतामा खेल्न पाइन्थ्यो । कथालाई काल्पनिकतामा ढालेर आफूले बनाउन चाहेजस्तो बनाउन उनलाई छुट थियो ।

त्यही सिनेमा हेर्दा धेरैलाई लाग्यो होला– आफ्नै बाउको बिहे गर्दिन्छु भन्दै हिँड्ने छोरा पनि हुन्छन् ? 

RABinaaa11687527709.jpg

एकल पुरुषले विवाह गर्नु त सामान्य भइसक्यो । हाम्रै समाजमा यस्ता सार्वजनिक अनुहार छन्, जसले एकल विवाह गरेका छन् ।

तर, बुवा होइन आमाको विवाह गराउने दिलदार छोरा पनि हाम्रै नेपाली समाजमा छन् । यसको पछिल्लो उदाहरण हुन्, आयुषमान देशराज श्रेष्ठ जोशी र आशिरमान देशराज श्रेष्ठ जोशी । 

बिहीबार उनीहरूका लागि अलि छुट्टै दिन थियो । अझ भनौँ विशेष दिन । कारण उनीहरू आमालाई पराइ घर पठाउँदै थिए । आमा अर्थात् पूर्वबैंकर रविना देशराज जोशीको बिहीबार विवाह थियो । आमालाई विवाहका लागि उनीहरूले बेहुलीको सजावटमा तयार पार्नु थियो । पारे । र, आमालाई विवाहको मण्डपमा पुर्‍याए । मण्डपमा थिए– बेलायती नागरिक स्टुआर्ट अलेक्जेन्डर च्यापम्यान ।

आयुषमान र आशिरमानकी आमा रविनाको सिउँदोमा स्टुआर्टले सिन्दुर भरे । जुन बेला स्टुआर्टले रविनाको सिन्दुरमा सिउँदो भरे आयुषमान, आशिरमान र प्रियंका कार्की (रविनाकी बुहारी)ले खुसी थाम्न सकेनन् । र, चिच्याए । स्टुआर्टले सिन्दुर हाल्दा प्रियंकाले सिन्दुरे टालो समाएकी थिइन् । उनलाई आयुषमानले सघाइरहेका थिए । 

त्यसो त रविनाका छोरा–बुहारी मात्रै होइन वैवाहिक समारोहमा स्टुआर्टकी छोरी पनि सहभागी थिइन् । 

Rabinaaab1687527709.jpg

वैवाहिक समारोहको पलपलमा रविनाका छोरा–बुहारी आमासँगै थिए । सँगै हुनु त ठूलो कुरा भएन, उनीहरू खुुसी पनि थिए । सार्वजनिक भएका तस्बिरमा पनि उनीहरूको खुसी अनुभूत गरेको मजाले देख्न सकिन्छ । 

एकल महिलाले दोस्रो विवाह गर्नु हुँदैन भन्ने समाजमा तपाईंहरूले आमाको विवाह गरिदिनु भयो नि ? “हामीले ममीको खुसी खोजेका हौँ । मैले यसअघि पनि भन्दै आएको छु, हरेक मान्छे हरेक समय खुसी भएर बाँच्न पाउनुपर्छ,” आयुषमान बाह्रखरीसँग भन्छन्, “हामीले पनि ममीको खुसी मात्रै खोजेका हौँ ।” 

रविनाले आफ्ना सन्तानलाई हुर्काइन्, पढाइन् । उनीहरू अहिले आ–आफ्नो करिअरमा छन् । जसरी रविनाले बर्सौं एक्लै बसेर सन्तानलाई खुसी दिइन्, त्यो पैँचो अहिले आयुषमान र आशिरमानले तिरे । आयुषमान भन्छन्, “हामीले सिकेको र हामीलाई सिकाएको भनेको हरेक व्यक्तिले खुसी–खुसी जिउन पाउनुपर्छ भन्ने हो ।” 

348627420_817125653118045_894934625465057288_n1687527721.jpg

आयुषमानले आफ्नो विगत सम्झिए । आमा (रविना)ले आफूहरूलाई दिएको खुसी सम्झिए । अनि भने, “बुवा–आमाले यसो गर्नुपर्छ, यसरी बस्नुपर्छ भनेर यही समाजले लगाइदिएको ट्याग त हो नि । तर, खुसीका लागि हामीले समाजमा रहेका केही कुरा परिवर्तन गर्दा कसैलाई नोक्सान गर्दैन भने त के भयो र गरौँ । सायद हामीले त्यही गर्‍यौँ होला ।” 

कतिपय सन्दर्भ र व्यवहारमा अझै समाज परिवर्तनशील हुन नसकेको उनको भनाइ छ । “समाजमा अझै पनि रूढिवादी सोच र परम्परा छ भन्ने लाग्छ । तर, समाज सधैँ उस्तै र उही ठाउँमा रहन्छ भन्ने लाग्दैन,” आयुषमान भन्छन्, “सायद केही परिवर्तन हुन पनि थाल्यो कि भन्ने लाग्छ, किनकि नेगेटिभ कमेन्ट आएजस्तो लागेको छैन ।” 

Rabinaaa1687527717.jpg

सायद आयुषमानलाई रविनाले त्यस्तै संस्कार दिइन्, जसले उनीहरू अरूको खुसीमा पनि हाँस्न सिके । त्यसैले त उनीहरू आफ्नै आमाको विवाहमण्डपमा खुसीले फुरुङ्ङ देखिए । उन्मुक्त हाँसो हाँसे । र, खुसी–खुसी आमाले खुसीको बाटो रोज्दाको साक्षी बसे । 

आज आमाको विवाह हुँदै छ भन्दा केही फरक अनुभूत हुँदोरहेछ ? “भएन, त्यस्तो खासै केही अनुभव भएन । हामीलाई सामान्य लागिरहेको थियो, जसरी अरू विवाह हुन्छन्,” जवाफमा आयुषमान भन्छन्, “जसरी हामी अरूको विवाहमा सरिक हुन्छौँ, त्यस्तै मात्रै भयो ।” 

आमा रविना र स्टुआर्ट नाचिरहँदा छोरा आशिरमान मोबाइलमा भिडियो खिचिरहन्छन्, एकछिनपछि उनी थपडी मार्न थाल्छन् । प्रियंका अरूले बजाउँदै गरेको मादल नजाने पनि बजाउँछिन् । 

Rabina 11687527713.jpg

रविनाको विवाहमा छोरा–बुहारीको साथ देखेर यतिबेला धेरैले प्रतिक्रिया दिइरहेका छन्, आमाबुवाले मात्रै होइन छोराछोरीले पनि आमाबुवाको खुसी खोज्न सक्नुपर्छ । 

५३ वर्षे सेलिब्रिटी बैंकर रविनाले २०७९ सालको प्रणय दिवसको अवसरमा आफूले बेलायती नागरिक स्टुआर्टसँग इङ्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनी प्रेमी स्टुर्आटसँग केही समय बेलायत बसेर फर्किएकी थिइन् ।

उनले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतको जागिर पनि अहिले छाडिसकेकी छन् । 

थप तस्बिहरू

Rabina DeshRaj (4)1687528949.jpg

Rabina DeshRaj (3)1687528948.jpg

Rabina DeshRaj (2)1687528947.jpg

Rabinaa Deshraj1687565761.jpg

Rabina DeshRaj (5)1687528943.jpg

Rabina DeshRaj (6)1687528943.jpg

तस्बिरहरू : रविना देशराज जोशी, प्रियंका कार्की र अल्फा पिक्चर्स नेपालको फेसबुकबाट ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्