site stats
बाह्रखरी :: Baahrakhari
देश
विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गछौँ : स्वास्थ्यमन्त्री बस्नेत
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गरिने बताएका छन् । 

शुक्रबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १० प्रतिशत नागरिकहरूको निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गर्ने बताएका हुन् । 

उनले अस्पताल सञ्चालनको स्वीकृति लिँदा १० प्रतिशत विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रावधान राखिएको भएपनि सो प्रावधान पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताए । 

अनुगमनका क्रममा अस्पतालहरूसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण पनि माग गरे । मन्त्री बस्नेतले अस्पताल सञ्चालनको स्वीकृति लिँदाको सम्झौता अनुरुप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन पनि दिए । 

निःशुल्क उपचार दिने र नदिने अस्पतालहरूलाई सरकारले सोही अनुरुप हेर्ने पनि स्पष्ट पारे ।

अस्पतालमा शैय्या उपलब्ध छ, छैन भन्नेपनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको भन्दै आगामी दिनमा बेड पाउनका लागि मन्त्री वा सांसदहरूले सिफारिस गर्नुपर्ने अवस्था तोड्ने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्