site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योग वाणिज्य महासंघको सचिवालयमा रोजगार मेला सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला सुरु गरेको छ । रोजगार मेलाको मंगलबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले  उद्घाटन गरेका हुन् ।

महासंघको सचिवालयमा आयोजना गरिएको रोजगार मेला जेठ १७ गते (भोलि) सम्म चल्नेछ । मेलालाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहेको छ ।

कामको खोजीमा रहेका यूवाहरूलाई मेलामा सहभागी कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको महासंघले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले रोजगार मेलालाई महासंघले क्यालेण्डर इभेन्टको रूपमा अगाडि बढाउने बताएका छन् ।

श्रम बजारमा रहेको रोजगारीको मिस म्याच समस्या समाधान गर्न रोजगार मेला जस्ता कार्यक्रमले सघाउने अध्यक्ष ढकालको भनाइ छ ।

"बजारमा दक्ष जनशक्तिको अभाव पनि छ, काम नपाएर विदेशिनेको संख्या पनि बढ्दो छ, यो मिस म्याचलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा महासंघ केन्द्रित छ," अध्यक्ष ढकालले भने ।  

देशको कुल गार्हस्थ उत्पादनमा करिब ८१.५५ प्रतिशत योगदान रहेको निजी क्षेत्रको रोजगारीमा समेत ठूलो योगदान छ ।

"केही समयदेखि अर्थतन्त्रमा आएका अवरोधका कारण निजी क्षेत्र विस्तार हुन नसक्दा रोजगारी सृजना र अर्थतन्त्र विस्तारमा समेत समस्या आयो," अध्यक्ष ढकालल भने ।

महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका प्रमुख पाँच प्राथमिकताहरुमा दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना समेत रहेकाले रोजगार मेलाले उक्त प्राथमिकतालाई पुरा गर्न सघाउने विश्वास व्यक्त गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले रोजगार मेलाले कामको खोजी गरिरहेका युवा र जनशक्ति खोजीरहेका उद्योग प्रतिष्ठान कम्पनीबीच पुलको काम गर्ने बताए । मुलुकभित्र रहेको युवा जनसंख्याको सही परिचालन हुन सकेमात्र मुलुकले छिटो प्रगति गर्ने धारणा राख्दै जानसाङ्खिक लाभको फाइदा समयमै लिनुपर्ने उनको भनाइ छ ।

महासंघको रोजगारदाता परिषद्का सभापति हेमराज ढकालले रोजगार मेलामा ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागिता रहेको बताएका छन् ।

मेलामा कम्पनीहरूले ६०० भन्दा बढी रोजगारीको अवसर पेस गरेका छन् । दुई दिने मेलामा करिब पाँच हजारले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महासंघको पहलमा आयोजना भएको रोजगार मेला, कामको खोजीमा रहेको युवा र कम्पनीका लागि समेत उपलब्धिमुलक हुने उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले रोजगार मेला नेपालमा रहेको श्रम शक्तिको पहिचान गर्ने एउटा महत्वपूर्ण माध्यम हुने र सरकारले पनि यस्ता कार्यक्रमको प्रवद्र्धनमा विशेष सहयोग गर्ने नीति रहेको बताएका छन् ।

रोजगार मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ ।  

कार्यक्रममा रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श सेसनहरू समेत आयोजना गरिएका छन् ।

उद्घाटन कार्यक्रममा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष नीरक केसी, कार्यकारिणी समितिका सदस्यहरू, मेरो जवका व्यवस्थापन निर्देशक, रोजगार सेवा केन्द्रका प्रतिनिधिहरू, आर्इएलको जेनेभाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्