site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले सरकारको परीक्षा लिइरहेका छन् : गगन थापा
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले सरकारको परीक्षा लिइरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले अनुसन्धान कसरी भइरहेको छ भन्ने जनताले एक एक हेरेर बसेको बताए ।

सांसद थापाले राज्यविरुद्धको अपराधमा संलग्न एकजना पनि उम्कन नहुने बताए । यो प्रकरणमा न्यायालयको पनि परीक्षा भइरहेको उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

“जसरी नाम आएको छ, एक प्रकारले लाज पनि लजाएको छ । को को परेको हो भनेर सुन्दै जाँदा हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ,” उनले भने, “तर, यसमा सरकारको परीक्षा हेर्नुछ । अनुसन्धान कसरी भइरहेको छ, सबै जनताले हेरिरहेका छन् ।”

उनले सलाम गर्ने तथा सलामी खाने दुवैको अनुसन्धान हुनुपर्ने बताए ।

“चाहे त्यो सलाम गर्ने मानिस होस्, चाहे सलामी लिने मानिस होस् । जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको फेयर अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन र गरिएन भनेर कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन,” उनले भने, “न्यायालयको पनि परीक्षा छ । उसले पनि न्याय गरेमात्र भनेर पाउँदैन । राज्यविरुद्धको अपराधमा संलग्न एक एक मान्छे चाहे घर होस्, चाहे बार्दलीको होस्, चाहे त्यो नेता होस्, कि नाता होस्, सलामी गर्ने होस् कि सलामी लिने होस्, एकजना पनि छुट्न हुँदैन ।”

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्