site stats
बाह्रखरी :: Baahrakhari
खेल
शीर्ष चारमा लिभरपुलको आश कायम, लेस्टर रेलिगेशनमा पर्ने सम्भावना 

काठमाडौं । कर्टिस जोन्स र ट्रेन्ट अलेक्जेण्डर–अर्नोल्डको गोलमा लिभरपुललाई सोमबार राति इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई ३–० ले पराजित गरेको छ । जितसँगै लिभरपुलले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राख्दा पराजित लेस्टर भने रेलिगेशनमा पर्ने सम्भावना बढ्दो छ । 

जितसँगै लिभरपुलले ३६ खेलबाट ६५ अंक जोडेको छ । जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा एक अंकले पछाडि हो । तथापि, लिभरपुलले एक खेल बढी खेलेको छ । तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेड र म्यानचेस्टर युनाइटेडको समान ६६ अंक छ । त्यसैले लिभरपुललाई शीर्ष चारमा रहन आफ्नो खेलको जितेले मात्रै पुग्दैन । न्युक्यासल र युनाइटेडको नतिजा पनि आफ्नो पक्षमा आउनु पर्छ ।  

Argakhachi Cement Island Ad

‘‘मलाई लाग्दैन हामीले शीर्ष चारमा रहेर लिगको अन्त्य गर्छौं । किनभने युनाइटेड र न्युक्यासलले अहिले धेरै गुणस्तरीय प्रदर्शन गरिरहेका छन्,’’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘‘उनीहरू हारेर पनि हामी पनि शीर्ष चारमा नरहने भयो भने त्यो लाजमर्दो हुनेछ ।’’

लिगमा अब लिभरपुलले एष्टन भिल्ला र साउथह्याम्पटनविरुद्ध खेल्न बाँकी छ । युनाइटेडले बर्नमाउथ, चेल्सी र फुलहमविरुद्ध खेल्न बाँकी छ । न्युक्यासलले भने ब्राइटन, लेस्टर र चेल्सीविरुद्ध खेल्न बाँकी छ । 

पराजित लेस्टरले ३६ खेलबाट ३० अंक जोडेको छ । जुन रेलिगेशनभन्दा माथि रहेको एभर्टनभन्दा दुई अंकले पछाडि छ । २०१६ को उपाधि विजेता लेस्टरलाई पनि आफ्नो बाँकी खेल जितेरमात्र हुँदैन अरु टिमको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्छ । अन्यथा रेलिगेशनमा पर्ने निश्चित छ । 

गएराति लिभरपुलले ३३औँ मिनेटमा जोन्सको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेट वित्न नपाउँदै जोन्सले लिभरपुलको अग्रता दोब्बर बनाए । ७१औँ मिनेटमा अलेक्जेन्डर–आर्नोल्डले तेस्रो गोल थपेका थिए । तीनै गोलमा मोहम्मद सालाहले गोलको अवसर सिर्जना गरिदिएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्