site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल वायुसेवा निगमले दुईवटा विमान खरिद गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।

प्रादेशिक रूपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई जहाज खरिद गर्ने कार्ययोजना अघि बढाएको हो ।

यसका लागि वैशाख २६ मा बसेको निगमको सञ्चालक समितिको बैठकबाट समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरी काम सुरु गरिसकेको छ ।

“सहरी क्षेत्रका विमानस्थलमा चल्ने जहाज नभएकाले निगमले हाल सहरी एवं व्यापारिक हिसाबले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन,” निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निगमले दुईवटा जहाज खरिद गरेपश्चात् काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढीलगायतका क्षेत्रबाट प्रादेशिक उडान भर्न सक्नेछ ।” रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्