site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थमन्त्री भन्छन्– सरकारको ध्यान अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रित छ

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलाउनका लागि समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढ्ने बताए । 

समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा उनले राखे । अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि पहिलो दिनदेखि महिना महिनामा अनुगमन गर्ने उनले बताए । 

मन्त्री महतले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गरे । यो आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको उनले बताए । 

अर्थमन्त्री महतले देशको अर्थतन्त्रको वर्तमान स्थितिलाई मध्यनजर गरेर नै बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताए । अहिलेको चूनौतीपूर्ण अवस्थामा मुलुकको आगामी गन्तव्यलाई सिद्धान्त र प्राथमिकतामार्फत प्रस्तुत गरेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्