site stats
बाह्रखरी :: Baahrakhari
खेल
पपको उत्कृष्ट प्रदर्शनले जर्मनी सेमिफाइनलमा 

काठमाडौं । जर्मनीकी अलेक्जान्ड्रा पपले पहिलो युरोपियन च्याम्पियनसिप खेल्न नौ वर्ष कुर्नुपर्यो । उनको त्यो लामो पर्खाइ अब सम्झनलायक बनेको छ । पप र लिना मागुलको गोलमा जर्मनीले बिहीबार राति अष्ट्रियालाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । 

जारी प्रतियोगितामा पपको यो चौथो गोल हो । समूह चरणदेखी क्वार्टरफाइनलसम्मका चारै खेलमा पपले गोल गरेकी छन् । २०१३ मा घाइते भएपछि पपले पछिल्लो दुई संस्करण खेल्न पाएकी थिइनन् । २०१३ मा जर्मनीले उपाधि जितेको थियो भने गत संस्करणमा नेदरल्यान्ड्सले बाजी मारेको थियो । 

Argakhachi Cement Island Ad

गत महिना पप कोभिड–१९ संक्रमणबाट ग्रसित भएकी थिइन् । तर, प्रतियोगिता अघि उनी ठिक भइन् । अष्ट्रियाविरुद्ध कप्तानको भूमिकामा रहेकी उल्फ्सबर्गकी फरवार्ड पपले उत्कृष्ट प्रदर्शन गरिन् । दुबै गोलमा उनको भूमिका रह्यो ।

जर्मनीले २५औं मिनेटमा मागुलको गोलबाट अग्रता लिएको थियो । पपले ९०औं मिनेटमा अर्को गोल थपेपछि जर्मनीको जित पक्का भएको थियो । 

“यो खेल ६–३ को स्कोरमा समाप्त हुनसक्थ्यो,’’ जर्मनीकी प्रशिक्षक मार्टिना भोस–टेक्लेनबर्गले भनिन्, “तर, यो ठूलो खेलमा २–० ले जित्न पाउँदा हामी खुसी छौं ।’’

गत संस्करणमा सबैलाई अश्चर्यचकित बनाउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको अष्ट्रियाको रक्षापंक्ति बलियो थियो । तर, आक्रमण पंक्तिको प्रदर्शन भने निराशजनक रह्यो । अष्ट्रियाका खेलाडीको प्रहार दुई पटक पोष्ट र एक पटक क्रसबारमा लागेर फर्कियो । 

आठ पटकको च्याम्पियन जर्मनीले २०१६ मा ओलम्पिक स्वर्ण पदक जिते पनि २०१७ को युरोपियन च्याम्पियसिप र २०१९ विश्वकपमा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । गत वर्ष टोकियोमा सम्पन्न ओलम्पिकका लागि छनोट हुन असफल भएपछि जर्मनी पहिलो पटक कुनै प्रमुख प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्