site stats
बाह्रखरी :: Baahrakhari
देश
मिरगञ्ज पुलमा अवरोध हुँदा ५ महिनामा पूर्वका उद्योगीको ६० करोड थप खर्च
भारतको बिहार राज्यस्थित बथनामा रहेको मिरगञ्ज पुल । (फाइल फोटो)

विराटनगर । विराटनगर नाका जोड्ने भारतको बिहार राज्यको बथनाहास्थित मिरगञ्ज पुलमा अवरोध हुँदा प्रदेश १ का उद्योगी व्यवसायीले ठुलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । 

गत पुस २१ गतेदेखि नै पुल भएर ठुला मालवाहक सवारी साधन आउन भारतीय पक्षले अवरोध गर्दै आएको छ । यसबाट सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगमा नकारात्मक असर परेको छ । औद्योगिक कच्चा पदार्थ आयात गर्न कठिन भएको उद्योगीले बताएका छन् । विलम्ब शुल्कका कारण आर्थिक नोक्सानी बढ्दै गएको व्यवसायी बताउँछन् ।

जेठको तेस्रो साता (पाँच महिना)सम्म मात्र औद्योगिक क्षेत्रले कुल रु. ६० करोड थप खर्च तिर्नुपरेको छ । मालवाहक गाडी ल्याउँदा ‘डिटेन्सन चार्ज’लगायत खर्च बढ्न पुगेको हो । यो नाका भएर दैनिक ३०० मालवाहक गाडी आउने गरेकोमा अहिले घटेर २०० मा झरेको छ । अहिले उद्योगीले प्रतिट्रक दैनिक रु. २० हजार खर्च गर्नुपर्दा प्रतिदिन थप खर्च ४० लाख रूपैयाँ हुने गरेको उद्योग संगठन मोरङले जनाएको छ । 

Argakhachi Cement Island Ad

संगठनका अध्यक्ष सुयष प्याकुरेलले एउटा पुलको विकल्प निर्माण नहुँदा उद्योग क्षेत्रले थप पुसयता मात्र रु. ६० करोड थप खर्चको रूपमा गुमाउनुपरेको सुनाए । “पुलमा अवरोध हुँदा जोगबनी नाकाको साटो अन्यत्रका नाका भएर औद्योगिक कच्चा पदार्थदेखि कलकारखानाका मालवस्तु ल्याउनु पर्दा अतिरिक्त खर्च बढ्न पुगेको छ,” उनले भने ।

मिरगञ्जको साटो नयाँ बन्दै गरेको पुल निर्माणको कामलाई गति दिन नेपाली पक्षले भारतीय पक्षसँग आग्रह गर्नुपर्ने प्याकुरेलको भनाइ छ । 

ब्रिटिस सरकारको पालामा निर्माण भएको मिरगञ्जको फलामको पुल बर्खाको पानीका हरेक वर्ष धस्सिने गरेको छ । यही कारण देखाएर भारतले २० टनभन्दा अधिक तौलकका मालवाहक ट्रक नेपाल आउन रोक लगाउँदै आएको छ ।

मोरङ व्यापार संघलेसमेत लामो समयदेखि मिरगञ्ज पुलको जीर्णोद्वार गर्न र दुरुस्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गर्दै आएको छ । संघका अध्यक्ष नविन रिजाल भन्छन्, “मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारी साधानहरूको चाप व्यवस्थापनका लागि उच्च क्षमताको नयाँ चार लेनको पुलको निर्माण गर्न भारत सरकारका विभिन्न निकायमा नेपाल सरकारमार्फत समेत पहल गर्दै आएका थियौँ । १६ वर्षदेखि नयाँ मिरगञ्ज पुल बन्ने काम ठप्प रहेकोमा नयाँ पुलको काम चाँडै सक्न र  पुरानो जीर्ण अवस्थामा रहेको पुललाई मर्मत गर्न आग्रह गरिरहेका छौँ ।”

परमाण नदीमाथिको निर्माणाधीन नयाँ चार लेनको पुल आंशिक रूपमा संचालनमा आएपनि यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने संघको माग रहेको रिजालले बताएका छन् । 

भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारी साधनहरू मिरगञ्ज पुल (पुरानो) अवरुद्ध हुँदा भीमनगर–भन्टावारी नाका प्रयोग गरेर आउने गरेका छन् । यसबाट समय अधिक लाग्ने र नेपाली आयातकर्ताले प्रति सवारी साधन करिब रु. २५ हजार थप व्ययभार बेहोर्नुपर्ने बाध्यता रहँदै आएको संघले छ । 

संघका अध्यक्ष रिजालको नेतृत्वमा केहीअघि जोगबनीसम्मको वैकल्पिक मार्गका लागि अररियाका जिल्ला प्रशासन प्रमुखसहित फारबेसगञ्जका अधिकारीहरू सडक विभागका प्रतिनिधिलगायतसँग संयुक्त स्थलगत भ्रमणसमेत भएको थियो ।

नेपाल उद्योग परिसंघ प्रदेश नम्बर एकका अध्यक्ष भीम घिमिरे उद्योगीका समस्या समाधान गर्न नेपाल सरकारले विशेष चासो दिनुपर्ने बताउँछन् । “धेरै अघिदेखि हामी पुलको समस्या समाधान गर्न माग गरिरहेका छौँ । तर ठोस पहल हुन सकेको छैन,” उनले भने । 

पुलको विषयमा संघका पूर्वअध्यक्ष महेशकुमार जाजू नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोलीमा सहभागी भई दिल्ली गएका बेला पुलको विषयमा भारतीय अधिकारीहरूको ध्यानाकर्षण समेत गरेका थिए । 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्