1625726131.jpg)
वीरगन्ज । जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका–१, रामभौरीनजिकै शीतलपुर जंगलमा हात्तीको आक्रमणबाट मकवानपुरको मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्यामबहादुर भुलनको मृत्यु भएको हो ।
भुलनसहित सोही ठाउँका भक्तबहादुर आले र श्रवण भुलन यही जेठ ९ गते कुरिलो खन्न गएका बेला एक्कासि जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए ।
“हात्तीको आक्रमणमा परेको तीन दिनपछि प्रहरीमा उजुरी आएको थियो र खोजी गर्ने क्रममा मृतक भुलनको शव सोमबार मात्रै फेला पर्यो,” उनले भने, “इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले मृतक भुलनको शव संकलन गरी शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा पठाएको छ ।”
भुलनसँगै कुरिलो खन्न गएका अरू दुईजना भने सकुशल रहेका प्रहरीले जनाएको छ । रासस