site stats
बाह्रखरी :: Baahrakhari
देश
‘क्याम्पस टपर’ दयावतीको चिन्ता: बीएड त सकियो अब ‘डिग्री’ कुन खर्चले कहाँ पढ्नु ? 

विराटनगर । दयावती उराउको घर मोरङको बुढीगंगा गाउँपालिका–७ आदिवासी चौकमा पर्छ । टोलको नाम मदनपुर हो । त्यहाँ उराउ (झाँगड) समुदायको झुरुप्प परेको बस्ती छ । सबै घर खरले छाएका छन् । उनी पनि त्यहीँ बस्छिन् ।
 
दयावतीको परिचय सामान्य झाँगडकी छोरी हुन् भन्ने कुराले मात्रै पूरा हुँदैन । किनभने पब्लिक क्याम्पस धनीवनी गाउँकी यी छात्रा बीएड तेस्रो वर्षकी ‘क्याम्पस टपर’ हुन् । मदनपुरबाट पढ्नका लागि क्याम्पससम्म पुग्ने उनी एक्ली झाँगड विद्यार्थी हुन् । टोलमा उनकै उमेरका पढ्ने कोही पनि छैनन् । किनभने सबैको विवाह भइसक्यो । यो समुदायमा सानै उमेरमा छोरीको विवाह गरिदिने चलन छ । केही सानो उमेरका केटाकेटी बल्ल विद्यालय जान थालेका छन् । तिनका बुवाआमालाई दयावतीले नै पढ्न पठाउन हौस्याएकी हुन् । 

उनका दुई दिदीबहिनीको विवाह भइसक्यो । ससुरालमा रमेका छन् । उनीहरू छोराछोरी हुर्काउँदै छन् । दयावती कान्छी छोरी हुन् । दाजु मजदुरी गर्छन् । त्यही कमाईले दुःखजिलो गरेर घर चल्छ । जतिसुकै दुःख भए पनि दयावतीको एउटै हुटहुटी छ, “जसरी पनि एमएड सक्ने त्यसपछि शिक्षिका बनेर आफूजस्तै दुःखमा परेका विपन्नका छोरीहरू पढाउने ।” 

Argakhachi Cement Island Ad

“बुबा हुञ्जेल त मलाई दुःख थिएन । उहाँले तँ पढ काम गर्नुपर्दैन मात्रै भन्नुहुन्थ्यो । कमाउन जानुहुन्थ्यो,” उनले भनिन्, “दुई वर्षअघि बुवा बित्नु भएपछि मलाई अफ्ठेरो भएको छ । अहिले आफू पनि सानोतिनो काम गर्न थालेकी छु ।” बुवा सामान्य श्रमिक थिए । घरगाउँमा कृषि मजदुरी गर्दथे । आमाले पनि साथ दिन्थिन् । दुबैले कमाउँथे । बचेको पैसाले छोरी पढाउँथे तर छोरी कक्षा १२ मा पुग्दा–नपुग्दै उनको मृत्यु भयो । 

“हामीलाई दुई छाक खाना जुटाउन पनि समस्या छ,” आफ्नो दुःख खोतल्दै उनले भनिन्, “तर, जस्तै दुःख भए पनि म पढाई छाड्दिन । अझै पढ्छु अनि शिक्षक बन्छु । घरमा विवाह गर भन्दै दबाब दिन्छन्, तर म कसैको कुरा सुन्दिन । अहिले शिक्षक लाइसेन्सको परीक्षाको तयारी गरिरहेकी छु ।”

मदनपुरबाट उराउ दैनिक साइकल चढेर क्याम्पस पढ्न जाँदा धेरैले पढेर केही हुँदैन भन्दै जिस्काएका थिए । उनको उमेरका धेरै छोरीहरूले ‘के  पढ्छेस विवाह गरेर दुलाहाको घर जा’ भन्थे । बालसखाहरु बुहारी भई घरजम गरिरहेका छन् तर, दयावती भने एमएड गर्ने धोको साँधेर संघर्ष गरिरहेकी छन् । बिहीबार पब्लिक क्याम्पसको २० औं वार्षिक उत्सवका अवसरमा प्रदेश नम्बर एकका सांसद विजयकुमार विश्वासले बीएड तेस्रो वर्षमा ‘क्याम्पस टपर’ भएकी उराउलाई ‘स्यावास अझै मिहिनेत गरेर पढ्नु’ भन्दै धाप मारे । 

पुरस्कृत हुँदा निकै हर्षित देखिएकी उनले नमस्कार गरेर गुरुहरूलाई अभिवादन गरिन् । त्यही क्याम्पसमा बीएड चौथो वर्षको परीक्षासमेत पूरा गरिसकेकी उराउको अब एउटै द्विविधा छ कहाँ गई कुन खर्चले डिग्री पढ्ने ? “खै सरहरू त यहीँ डिग्रीको कक्षा संचालन हुने भन्नुहुन्छ तर अब रिजल्ट आउन धेरै छैन, कहाँ गई पढ्ने थाहा छैन्,” उनले भनिन्, “एमएड पढ्न विराटनगर पुग्नु पर्छ । त्यहाँ जाने मेरो हैसियत छैन, अब के गर्ने भन्ने थाहा छैन ।”

दयावतीले दश जोड दुई मोरङको मृगौलियास्थित श्रीउच्च माविबाट पूरा गरेकी थिइन् । ढंग्राहाको लक्ष्मी उच्च माविमा कक्षा १ देखि १० कक्षासम्मको पढाई पूरा गरिन् । पब्लिक क्याम्पसका प्राचार्य झमक दाहाल भन्छन्, “दयावती अब्बल विद्यार्थी हुन् उनको पढाई निकै राम्रो छ ।”

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्