site stats
बाह्रखरी :: Baahrakhari
खेल
मेस्सीको गोल सेलिब्रेसन पछ्याउने अनिताको योजना 

विराटनगर । विश्व फुटबलमा खेलाडीको गोल सेलिब्रेसन पनि चर्चामा हुने गर्दछ । विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिपमा पनि गोल सेलिब्रेसन चर्चामा रह्यो । 

नेपाली टोलीकी सावित्रा भण्डारी गोल सेलिब्रेसनमा विश्व फुटबलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको नक्कल गर्छिन् । उनले समूह चरणमा भुटान र बंगलादेश तथा सेमिफाइलनमा श्रीलंकाविरुद्ध सबैमा समान १ गोल गरेकी थिइन् । 

Argakhachi Cement Island Ad

यसपटक सावित्राको मात्र होइन, श्रीलंकाविरुद्ध उच्च प्रदर्शन गरेकी अनिता बस्नेतको सेलिब्रेसनले पनि निकै चर्चा पाएको थियो । पहिलो हाफमा १–० को मात्र अग्रता बनाएको नेपालले दोस्रो हाफमा अनिता चम्केपछि थप ३ गोल गरेको थियो । 

टोलीका लागि दोस्रो गोल गरेकी अनिता सेलिब्रेसन हेर्न लायक थियो । उनले युभेन्ट्सका अर्जेन्टिनी स्टार पाउलो डेबालाको सेलिब्रेसनको नक्कल गरेकी थिइन् । उनले अन्तिम दुई गोलमा पनि पास मिलाउँदै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । 

शुक्रबार सहिद रंगशालामा उपाधि भिड्न्तमा भारतको सामना गर्दा अनिताले अलग सेलिब्रसेनको योजना बुनेकी छिन् ।  भारतविरुद्ध गोल गर्न सकेमा भने उनी विश्व फुटबलका अर्का सुपर स्टार लियोनल मेस्सीको सेलिब्रेसन स्टाइल नक्कल गर्ने योजनामा छन् । 

“गोल गरेपछि निकै उत्साहित भएँ । मेस्सीको सट्टा डेबालाको सेलिब्रेसन गरेँछु,” उनले भनिन्, “म मेस्सी, डेबाला र  नेयमारको फ्यान हुँ । भारतविरुद्ध गोल गरे भने मेस्सीको स्टाइलमा सेलिब्रेसन गर्नेछु ।” 

महिला टोलीका सदस्य सावित्रा रोनाल्डोकी समर्थक हुन् । अधिकांश गोलमा उनले रोनाल्डोको शैली अपनाउछिन् । बंगलादेशमाथि जित निकाल्दा रोनाल्डो सेलिब्रेसन गरेकी थिइन् । अधिकांश नेपाली खेलाडी कुनै कुनै विश्व फुटबलका स्टारबाट प्रभावित छन् । 

तेह्रथुममा जन्मेकी अनिताले फुटबल बुझेदेखि नै मेस्सीलाई फलो गर्दै आएकी छन् । सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा भएको तेस्रो संस्करणको साफ च्याम्पियनसिप फुटबलबाट डेब्यू गरेकी उनी त्यसयता नेपाली टोलीको मुख्य खेलाडीका रुपमा स्थापित भइकी छिन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०७५  ११:२०
प्रतिक्रिया दिनुहोस्