site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफको अन्तिम अभ्यासमा महिला टोली

काठमाडौं । पाँचौं महिला साफ च्याम्पियनसिप शुरु हुन अब दुई साता मात्र बाँकी छ । साफका लागि विराटनगरको सहिद रंगशालालाई तयार गरिँदैछ। पहिलो पटक घरेलु मैदानमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपका लागि भव्‍य तयारी भइरहँदा नेपाली राष्ट्रिय महिला टोली साफलाई विशेष यादगार बनाउने रणनीतीसहित अन्तिम तयारीमा छ।
 
इटहरी रंगशालामा बेलुका साढे दुई घण्टाको अभ्यासमा मुख्य प्रशिक्षक हरी खड्काले टोलीका कमजोरी सुधार्ने अन्तिम अभ्यास गरीरहेका छन्। हिरो वुमन्स गोल्डकपमा भएका कमजोर पक्षलाई केन्द्रित गरी अभ्यास थालेका प्रशिक्षक खड्काले भारतमाथिको जितपछि फुटबलप्रेमीमा बढेका आशालाई निराश नपार्ने गरी खेलाडीले मिहनेत गरिरहेको बताए।
 
टिम सेटमा समस्या आइरहेकाले विशेषत कमजोर पक्षसँगै टिम सेटका लागि आफूले जोड गरेको प्रशिक्षक खड्‍काले बताए। उनले भने, "टिम सेटमा समस्या देखिरहेको छ। हामी यसैमा फोकस छौं। अन्य कमजोर पाटा पनि छन्। सुधार आइरहेको छ।" भारतको सिनिएर टोलीमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको नेपाली टोली उच्च मनोबलमा छ।
 
"मिहिनेत गरे जित्न सक्छौं भन्नेमा खेलाडीहरु आत्मविश्वासी बनेका छन्। त्यही भएर निकै मिहिनेत साथ अभ्यास गरिरहेका छन्" प्रशिक्षक खड्काले भने, "गोल खाइसकेपछि दबाबमा परेर खेल बिगार्ने समस्या देखिएको छ। घरेलु मैदानमा दर्शकको हुटिङ अवश्य पनि हुन्छ। त्यही अनुसार खेलाडी तयार भइरहेका छन्।" नेपालले उडिसामा सम्पन्न हिरो वुमन्स गोल्डकपमा भारतमाथि २-१ र इरानलाई ३-० ले पराजित गरेको थियो।
 
साफका लागि प्रशिक्षक खड्काले भारतविरुद्ध नयाँ रणनीती बनाइरहेका छन्। उनले भने, "भारत राम्रो टोली हो। हिरो वुमन्समा भारतका केही कमजोरीका कारण हामीले जित निकाल्यौं तर भारत कमजोर टोली भने होइन्।" समुह ए मा रहेको नेपालले भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानले नाम दर्ता नगरेपछि प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन्।
 
प्रशिक्षक खड्काले सुरुवातमै उपाधी लक्ष्य नराखेर सेमिफाइनल र त्यसपछि उपाधीलाई केन्द्रित गर्ने बताए। "म्यानमारमा ओलम्पिक छनोट र हिरो वुमन्सपछि फुटबलप्रेमीमा ठुलो आशा पलाएको छ। खेलाडीबाट उपाधीको अपेक्षा गरेका छन् समर्थकले। चुनौती पनि हो टोलीलाई तर खेलाडीले नआत्तिकन चुनौतीको सामना गर्नेछन्," प्रशिक्षक खड्काले थपे।
 
टोलीकी कप्तान अनु लामाले खेलाडीले आत्मविश्वासका साथ प्रशिक्षण गरिरहेको बताइन्। उनले घरेलु मैदानमा रहेको अवसरलाई सदुपयोग गर्न खेलाडी आँतुर रहेकोसमेत बताइन्। खुट्टाको शल्यक्रियापछि खेलमा फर्किएकी अनुले भारतलाई पराजित गरेपछि खेलाडी अर्को चुनौतीका लागि तयार रहेको प्रतिक्रिया दिइन्। 

यही साफबाट राष्ट्रिय टोलीको जर्सी र बुट थन्क्याउने योजनामा रहेकी अनुले भनिन्, "दर्शक र मैदानको फाइदा छ हामीलाई। जित्न सक्छौं भनेर आफुलाई प्रमाणित गर्ने अवसर पनि छ। सक्छौं भन्ने भावना छ बहिनीहरुमा। हामी जितका लागि खेल्नेछौं।"

Argakhachi Cement Island Ad

टोलीको मुख्य अस्त्रको रुपमा रहेकी स्टाइकर सावित्रा भण्डारी आफ्नो प्रदर्शन सुधारमा केन्द्रित भएकी छन्। हिरो वुमन्स गोल्डकपमा भारत र इरानविरुद्ध चार गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी सावित्राले कमजोर पक्षलाई मजबुत बनाउन लागिरहेको बताइन्। चौंथो साफ च्याम्पियनसिपमा १२ गोल गर्दै गोल मेसिङको उपमा पाएकी सावित्रा पाँचौं साफमा नयाँ किर्तिमान बनाउने लक्ष्यमा छन्। "क्रसिङ र फिनिसिङमा गुरुले ध्यान दिन भन्नुभा'छ। त्यही अनुसार आफूलाई तयारी गर्दैछु। ओभर कन्फिन्डेट नभइ उपाधी जित्ने हो", सावित्राले भनिन्, "मेरो लक्ष्य टोलीका लागि धेरै भन्दा धेरै गोल गर्ने हो।"
 
साफ च्याम्पीयनसिप फागुन २८ गतेबाट विराटनगरमा शुरु हुँदैछ। भुटान र बंगलादेश रहेको समुह 'ए' मा रहेको नेपालले भुटानसँग खेल्दै साफ यात्रा शुरु गर्नेछ। समुह 'बी' मा भारत, माल्दिभ्स र श्रीलंका छन्। समुहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। चारै पटक भारत साफ च्याम्पियन हुँदा नेपाल भारतसँग स्तब्ध हुँदै आएको छ। तीन संस्करणमा भारतलाई उपाधी सुम्पिएको नेपाल अघिल्लो संस्करणमा भने सेमिफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो। 

फाइल तस्बिर 


 

प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  ०९:१४
प्रतिक्रिया दिनुहोस्