-1718627840.jpg)
काठमाडौं । केही दिनयता देशका धेरै स्थानमा वर्षा भइरहेको छ । सोमबार (जेठ १२) राति पनि कतिपय स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाएको छ ।
तर, अबका कम्तीमा तीन दिन भारी वर्षाको सम्भावना नरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । “वर्षा त हुन्छ नै । आज (सोमबार) राति पनि वर्षाको सम्भावना छ, भोलि पनि छ,” उनले बाह्रखरीसित भने, “तर, तीन दिनसम्म भारी वर्षाको सम्भावना छैन ।”
देशका कतिपय स्थानमा जस्तै मंगलबार (जेठ १३) काठमाडौंमा पनि वर्षाको सम्भावना छ । दिउँसो र बेलुकीपख काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भने बुधबार (जेठ १४) रातिदेखि धेरै स्थानमा भारी वर्षाको सम्भावना औँल्याएका छन् ।
“बुधबार रातिदेखि भने बंगालको खाडीमा बन्न लागेको लो प्रेसरले गर्दा नेपालको लुम्बिनीदेखि पूर्वसम्म धेरै ठाउँमा भारी वर्षाको सम्भावना देखिन्छ,” उनले सोमबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
कुन भेगमा भारी वर्षा हुन्छ भन्न कठिन रहेको उनले उल्लेख गरेका छन् । “तर, मधेस र कोसी प्रदेशका केही स्थानमा भारीदेखि भीषण वर्षा हुनसक्छ है,” उनले लेखेका छन्, “त्यसैले सचेत रहनुहोला ।”
हिजो राति र आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको र भोलि पनि लगभग यस्तै मौसम रहने उनको अनुमान छ ।