
काठमाडौं । पछिल्लो तीन महिनादेखि घरेलु फुटबललाई चलायमान बनाएको सहिद स्मारक ‘बी’ डिभिजन लिगले शुक्रबार (जेठ ९) बढुवा र घटुवा हुने समान दुई टोली पायो ।
पछिल्लो अढाई वर्षयता रोकिएको लिगले नयाँ विजेता पाउँदा नेपाली फुटबलको अभिभावक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले केही राहत पाएको छ ।
लिगबाट प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब टोखा क्रमशः विजेता र उपविजेता हुँदै शीर्ष डिभिजनमा बढुवा भए । खेलाडीले खेल्ने वातावरण पाउँदा यही लिगबाट केही नयाँ प्रतिभा पनि उदाएका छन् । जसमध्येका एक हुन्, फागुराम थारु ।
प्लानिङलाई ‘ए’ डिभिजन क्लबको हैसियत दिलाउँदा फागुरामको प्रदर्शन सबैभन्दा अब्बल रह्यो । लिगको उच्च गोलकर्ता बन्दै ५० हजार रुपैयाँ प्राप्त गर्दा उनले कुल १५ गोल गरे ।
फागुरामको फुटबल कथा
बर्दियाका फागुराम परिवारका दुई सन्तानमध्ये कान्छो छोरा हुन् । लिग च्याम्पियन बन्नुअघि बाह्रखरीसँगको कुराकानीमा फागुरामले आफ्नो फुटबलका अन्तरकुन्तर फुकाए ।
फागुराम यस संस्करणको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जुन उचाइमा पुगेका छन्, यो उचाइमा उनी सजिलै पुगेका होइनन् । बारबर्दिया नगरपालिका–२ निवासी फागुरामले अनेकन आरोह–अवरोह पार गरेका छन् । उनले काठमाडौंमा गरेको संघर्ष प्रेरणादायी छ ।
फागुराम २०७१ मा कक्षा १० उत्तीर्ण भएलगतै गाउँका दाइहरूसँग काठमाडौं आए । काठमाडौं पस्दा उनीसँग न पैसा थियो न फुटबल खेल्न साथी वा टिम नै थियो । जसकारण उनीले केही समय फुटबल खेल्न पाएनन् । फुटबल खेल्न नपाउँदा र अरुले खेलेको देख्दा मोजाको बलबाटै रहर पूरा गरे ।
‘‘कक्षा १० को परीक्षा सकेपछि म पैसा कमाउँछु भनेर काठमाडौं आएको थिए । काठमाडौंमा आउँदा मैले फुटबललाई धेरै मिस गरे । अरुले खेल्दा आफ्नो मनमा नै फुटबल दौडिन्थ्यो । रहर लाग्थ्यो । अनि म कोठामा मोजाको फुटबल बनाएर खेल्थे,’’ उनी आफ्ना पुराना दिन यसरी सम्झन्छन् ।
उनले काठमाडौंमा गरेको संघर्ष यतिमा मात्र सीमित छैन । पैसा कमाउन मजदुरी गरे । घर निर्माणको ठेक्कापट्टातिर लागे । टिनको कटेजमा दिन काटेको अनुभव पनि फागुरामसँग छ ।
‘‘काठमाडौंमा मेरो ठूलो बुबाको छोरा हुनुहुन्थ्यो । उहाँ घर बनाउने ठेक्का लिनु हुन्थ्यो । अनि म पनि जता जता ठेक्का हुन्थ्यो, दाइसँग गएर काम गरे । ठेक्का लागेको ठाउँमा टिनको कटेज बनाएर बस्थेँ,’’ उनले भने ।
आफूलाई अब्बल फरवार्डको दर्जामा उभ्याएका फागुरामले सुरुआतमै यो ‘पोजिसन’ पाएका थिएनन् । गाउँकै दाजुहरूले जबरजस्ती गोलपोष्टमा उभ्याइ दिन्थे । तर, फागुराम पोष्टमै अडिदैनथे । उनी कहिले गोलकिपर छोडेर स्ट्राइकर बन्थे, कहिले मिडफिल्डर अनि डिफेन्डर । गोल गर्ने दृढ इच्छाशक्तिका कारण आफ्नो गोलपोष्टबाट विपक्षीको गोलपोष्टसम्म दौडन गाह्रो मान्दैनथे ।
“गाउँमा हुँदा दाइहरूले सधैँ गोलकिपर बनाउनु हुन्थ्यो । गोलकिपर बन्दा गोल हान्नै नपाइने, गोल गर्नका लागि टिमका साथीलाई गोलकिपर बनाएर फरवार्डमा खेल्थे । त्यो बेलादेखि नै फरवार्ड खेल्ने बानी भयो,” फागुराम सुनाउँछन् ।
यही इच्छाले उनलाई नयाँ पहिचान दिलाएको छ, सहिद स्मारक ‘बी’ डिभिजन लिगमा उच्च गोलकर्ता । नेपाली फुटबलको घरेलु संरचनाका तीन लिगमा फागुराम उच्च गोलकर्ता बनेको यो पहिलोपटक भने होइन । यसअघि सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पनि फागुराम प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए ।
‘सी’ को उच्च गोलकर्ता बनेका फागुराम ‘बी’मा पनि यही लय दोहोर्याउने लक्ष्यमा थिए । लक्ष्यअनुसारको प्रदर्शनपछि फागुराम भन्छन्, “मलाई विश्वास थियो । ‘सी’ डिभिजनमा पनि उच्च गोलकर्ता बनेपछि राम्ररी खेल्नुपर्छ भन्ने मनमा थियो । त्यो पूरा भयो ।”
खेल करिअरमा तीन महत्त्वपूर्ण उच्च गोलकर्ताको उपाधि उनको नाममा छ । पहिलोपटक उनले २०७९ मा उच्च गोलकर्ताको अवार्ड जितेका थिए । नेपालमा हुने मोफसलका प्रतियोगिताहरूमध्येको एक तिलोतमा गोल्डकपमा । प्रतियोगितामा आप्mनै दाजु चेतन चौधरीको टोली मनाङ मर्स्याङ्दी क्लबसँग फाइनलमा टाइब्रेकरमा पराजित हुँदै सुदूरपश्चिम–११ उपविजेता बनेको थियो । फागुराम यो प्रतियोगितामा चार गोल गर्दै उच्च गोलकर्ता र उत्कृष्ट खेलाडी बनेका थिए ।
यसपछि २०७९ मै सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पनि फागुराम उच्च गोलकर्ता बने । उनको टोली प्लानिङ ब्वाइज युनाइटेड अन्तिम खेलमा ओएसीस क्लबलाई ५–० ले पराजित गर्दै ‘बी’ डिभिजन लिगमा बढुवा भएको थियो । यो संस्करणमा उनले १४ गोल गरेका थिए ।
फागुरामको अर्को विशेष उच्च गोलकर्ताको उपाधि हो, सहिद स्मारक ‘बी’ डिभिजन लिगको । लिगमा कुल ३३ गोल गर्दै च्याम्पियन बनेको प्लानिङको आधा गोल फागुराम एक्लैले गरेका छन् ।
फागुरामले पहिलोपटक तिलोत्तमा गोल्डकपमा जितेको उपाधिबाट परिवारको समर्थन पाए । सुरुआती चरणमा फुटबल खेल्नलाई परिवार नै चुनौती बन्थ्यो । मध्यमवर्गीय र कृषि पेसामा आश्रित उनको परिवारले फुटबलमा नलाग्न सुझाउँथे । तर, तिलोत्तमा गोल्डकपबाट उच्च गोलकर्ता बन्दै एक थान स्कुटर जितेपछि परिवारले समर्थन जनाउन थालेको फागुरामले बाह्रखरीसँग सुनाए ।
‘‘आमाबुबाले सधैँ पढाइलाई प्राथमिकतामा राख्नुहुन्थ्यो । हामी किसानको छोराले फुटबल खेलेर के गर्नसक्छ भनेर भन्नुहुन्थ्यो । २०७९ मा मैले तिलोत्तमा गोल्डकपमा सर्वाधिक गोलकर्ताको उपाधि जितेको थिए,’’ उनले सुनाए, ‘‘मैले यो प्रतियोगितामा चार गोल गरेर डियो स्कुटर जिते । अन्य प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै पुरस्कार जिते । त्यसपछि परिवारले मेरो फुटबल लगावलाई बुझ्न थाल्नुभयो ।’’
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा
फागुरामले प्रभावशाली खेलबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेत अवसर पाइसकेका छन् । ‘सी’ डिभिजन लिगमा गरेको प्रभावशाली प्रदर्शनका कारण उनलाई २०८० मा लाओसविरुद्धको मैत्रीपूर्ण खेलका निम्ति राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा डाकिएको थियो । नेपाली राष्ट्रिय पुरुष टोलीका निवर्तमान प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले उनलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । तर, चोटका कारण प्रशिक्षणमा टिक्न सकेनन् । घुँडाको चोटका कारण बन्द प्रशिक्षणबाट बाहिरिए ।
‘‘सी डिभिजनपछि मलाई तत्कालीन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाउनु भएको थियो । बन्द प्रशिक्षणमा बोलाउदा खुसीको सीमा नै थिएन,’’ उनी सुनाउँछन्, ‘‘म बुटवलमा लिन्सु कप खेलिरहेको थिए । क्याम्पको लागि सेमिफाइनल छोडेर आए । घुँडामा लागेको चोटका कारण चार दिनपछि म बाहिरिए । त्यसबेला फुटबल छोड्छु भन्ने मनमा आयो । तर, अघि बढे ।’’
परिवारको इच्छा सरकारी जागिर
फुटबलमा सानैदेखिको रुचि थियो । परिवारको आर्थिक संकटले साथ दिने अवस्था थिएन । यसैकारण सरकारी जागिरे बन्नुपर्छ भन्ने परिवारको चाहना थियो । तर, फागुरामले फुटबल छोडेनन् । त्यसैको परिणाम स्वरुप फुटबलले फागुरामलाई पहिचान दिलाइरहेको छ ।
‘‘पैसा कमाउनैपर्छ भन्ने थियो । फुटबलमा नआएको भए, लोकसेवा पढिरहेको हुन्थे वा अन्य काम गरिरहेको हुन्थे,’’ उनले भने, ‘‘पहिले रमाइलोका लागि फुटबल खेलिन्थ्यो । तर, पछि यही खेल लगाव बन्यो, पाकेको खाना छोडेर फुटबल खेल्न हिड्थे ।,’’
प्लानिङसँग कसरी जोडिए ?
यस संस्करण प्लानिङका प्रमुख खेलाडीको रूपमा रहेका फागुराम टोलीका लागि नयाँ अनुहार भने होइनन् । फागुराम प्लानिङमा आबद्ध भएको चार वर्ष पुगिसक्यो । उनी काठमाडौं आएकै वर्ष प्लानिङले सी डिभिजनको लागि खेलाडी छनोट गरेको थियो । यही छनोटबाट उनी प्लानिङ ब्वाइजसँग जोडिएका हुन् । उनले २०७८ मा प्लानिङबाट पहिलोपटक ‘सी’ डिभिजन लिग खेले । त्यसयता उनी प्लानिङका नियमित सदस्य छन् ।
‘‘म सुदूरपश्चिम–११ का दाइहरूसँग काठमाडौं आएको थिए । उहाँहरूबाटै छनोट हुँदै छ भनेर थाहा पाएँ । टिमले छान्यो पनि । चार वर्ष र तीन सिजन भएको छ प्लानिङमा मेरो,’’ उनले भने, ‘‘पहिलोपटक लिग प्लानिङबाटै खेलेँ । टिम व्यवस्थापनले मलाई कठिन अवस्थामा पनि धेरै सहयोग गर्नुभएको छ । सुरु–सुरुमा खेल्न आउँदा मेरो प्रदर्शन अहिलेको जस्तो थिएन । तर, दाइहरूले मलाई हिम्मत नहार भनेर हौसला दिनुहुन्थ्यो । त्यसैले अन्य टोलीहरूबाट अफर आए पनि मैले सबैलाई अस्वीकार गरेँ ।’’
फागुराम हाल राष्ट्रिय टोलीमा स्थान बनाउन तयारी गरिरहेका छन् । उनी शीर्ष डिभिजनमा आफ्नो शतप्रतिशत प्रदर्शन गर्ने बताउँछन् ।
‘‘अब राष्ट्रिय टिमको जर्सी लगाउने बाल्यकालदेखिको सपना पूरा गर्नुछ,’’ उनले भने, ‘‘अबको मेरो लक्ष्य भनेको राष्ट्रिय टोली नै हो । जसरी भए पनि नेपालको जर्सी लगाएर फुटबल खेल्न मन छ ।’’