
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतको आदेश प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
आइतबार (जेठ ११) पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकबाट उक्त बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्चको आदेशलाई कानुनी रूपमा स्वीकार गरिएको छ । तर, प्रक्रियागत रूपमा आदेश त्रुटिपूर्ण रहेको निष्कर्ष निकालिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सर्वोच्चको आदेशमा त्रुटि र कमजोरी भेटिएको भन्दै उनले यो विषयमा सार्वजनिक रूपमा बहस गर्ने उल्लेख गरे । यद्यपि, अदालतको आदेशप्रति आफूहरूको सम्मान र त्यसलाई कानुनी रूपमा मान्न तयार रहेको उनले स्पष्ट पारे ।
यस्तै, हालै अध्यागमन विभागको भिजिट भिसा प्रकरणले वर्तमान सत्ता गठबन्धनको नियत पुष्टि हुँदै गएको बैठकबाट ठहर गरिएको छ ।
कार्यवाहक प्रवक्ता झाले अरू दलका नेतालाई प्रमाणित नगरेरै थुनामा राख्ने गरिएको बताए । पुरानो दलका नेतालाई थुनामा राख्न भने प्रमाणित हुनुपर्ने अवस्था देखिएको उनले टिप्पणी गरे ।
उनले देशमा सुशासनका निम्ति आन्दोलनमै जानुपर्ने अवस्थाका बारेमा पनि बैठकमा छलफल भएको जानकारी दिए । आउँदो संसद् बैठकमा रास्वपा विभिन्न विषयमा सशक्त रूपमा प्रस्तुत हुने उनले बताए । मंगलबार (जेठ १३) बस्ने संसद् बैठक सामान्य नहुने उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस