
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क्षेत्रलाई बलियो बनाउन र नेपाल–भारतको सहकार्यलाई प्रवर्धन गर्ने उद्देश्यले इन्डो–नेपाल सीएसआर समिट सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआरका रकम खर्च गर्ने सन्दर्भमा त्यति धेरै प्रभावकारी नभइरहेको र कर्पोरेट कम्पनीहरूले यसलाई ध्यान दिन नसकिरहेको बताइन् । उनले सीएसआरका कार्यक्रमले ठूलो प्रभाव पार्ने र धेरै नेपाली समाज लाभान्वित हुन सक्ने बताइन् ।
“हामीले सीएसआरको पोलिसी बनाउन बहसहरू गरिरहेका छौँ । यसमा कर्पोरेट कमुनिटीले पनि बहस गर्न जरुरी छ । सीएसआर भनेको पैसामात्रै होइन । यो व्यवसायको कर्तव्य र समाजसेवा पनि हो,” उनले भनिन् ।
नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका उपाध्यक्ष एवंम सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सीएसआर जस्तो महत्त्वपूर्ण छलफल भएको पाउँदा खुसी भएको बताए ।
“सूर्य नेपाल र अन्य नेपालका ठूला कर्पोरेटले सीएसआरमा कुनै न कुनै किसिमको सहकार्य गर्दा दिगो विकासमा टेवा पुग्ने देखिएको छ," उनले भने ।
कार्यक्रममा विफक्याप नेपालका सीईओ मनोज रेग्मीले सीएसआर समिटबाट प्राप्त रकमले पूर्वी नेपालका तीनवटा जिल्ला भोजपुर, सोलुखुम्बु र खोटाङका ४०० उद्यमीलाई वित्तीय साक्षरता पनि दिने जानकारी दिए ।
कार्यक्रममा नेपालका सांसद, मन्त्रालयका उच्च पदस्थ व्यक्तित्व, भारत र नेपालका वरिष्ठ सीएसआर विज्ञ तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख, निजी क्षेत्रका प्रतिनिधहरूको उपस्थिति थियो ।
बिफक्याप नेपालको आयोजना तथा ’जी’ (डीजेडआई) फाउन्डेसनको आयोजना भएको थियो ।