site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पाँचतारे होटल चलाइरहेको सरार्फ ग्रुप जलविद्युतमा, १६ अर्बमा सुपर त्रिशूली आयोजना बनाउँदै

काठमाडौं । राजधानीमा पाँचतारे ह्यात रिजेन्सी होटल र याक एन्ड यती होटल सञ्चालन गरिरहेको सरार्फ ग्रुप पछिल्लो समयमा आक्रामक रुपमा जलविद्युतमा लगानी बढाएको छ । 

आईसीटीसी ग्रुपसँगको साझेदारीमा २३.५ मेगावाट माथिल्लो सोलु जलविद्युत् आयोजना सञ्चालन गरिरहेको ग्रुपले अहिले १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

ग्रुपले ब्लु इनर्जी लिमिटेडमार्फत सुपर त्रिशूली आयोजना बनाइरहेको छ ।  अहिलेसम्म आयोजनामा ३० प्रतिशत भौतिक र ३६ प्रतिशत वित्तीय प्रगति भएको कम्पनीका सञ्चालक निरन्जन रेग्मीले बताए ।  असारसम्म ४० प्रतिशत काम सक्ने योजना रहेको उनले सुनाए । वर्खाले गर्दा लक्ष्य पूरा हुन कठिन देखिएको उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

आयोजना बनाउन १६ अर्ब २४ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  प्रतिमेगावाट लागत १६ करोड २० लाख रुपैयाँ लाग्ने उनले जानकारी दिए ।  लागतको हिसावले सुपर त्रिशूली सस्तो जलविद्युत आयोजना हो । 

अहिले अन्य आयोजनाको लागत बढेर प्रतिमेगावाट औसत २० करोड रुपैयाँ माथि पुगिसकेको छ । यो लागत निर्माण अवधिको ब्याज (आईडीसी) बाहेकको हो । कूल लगानीमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत सरार्फ ग्रुपको स्वपुँजी लगानी रहेको छ । 

आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अगुवाइमा १२ अर्ब २८ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ ।  ऋण लगानीको सहनेतृत्व कुमारी बैंक र ग्लोबल आईएमई बैंकले लगानी सम्झौता गरेका छन् । आउँदो चार वर्षमा आयोजना सम्पन्न हुने लक्ष्य रहेको छ । 

आयोजनाको लक्षित समय साढे दुई वर्ष छ । आयोजनाको सिभिल निर्माण र हाइड्रोमेकानिकल जडानको जिम्मा सीई कन्स्ट्रक्सन प्रालिले पाएको छ । यस्तै इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति र जडानको ठेक्का क्यानडाको जीई इनर्जीले पाएको छ । 

आयोजनामा सरार्फ ग्रुपका अतिरिक्त हङकङको डोमिन्स होल्डिङस र नेपाली लगानीकर्ताको स्वपुँजी हुने छ ।  ग्रुपले अपर सोलु हाइड्रोपावरमा सरार्फको ३० र बाँकी ७० प्रतिशत आईसीटीसी ग्रुपको लगानी छ । सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसएनभी ल्याभिन क्यानडाले तयार पारेको हो ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।  वर्षादको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ ।  वार्षिक तीन प्रतिशतका दरले आठ पठक मूल्यवृद्धि पाउने भएको छ ।

यो परियोजनालाई ३१ प्रतिशतको उच्च सुख्खा ऊर्जा मिश्रणले समर्थन गर्दछ जसको औसत ५७ प्रतिशत छ । परियोजनाबाट उत्पादित बिजुली १८.८ किलोमिटर २२० केभी प्रसारण लाइनमार्फत विद्युत प्राधिकरणको मार्खी चोक सबस्टेशनमा प्रसारण गर्ने प्रस्ताव गरिएको छ । 

यसका साथै, नयाँ मर्स्याङ्दी–मातातीर्थ २२० केभी प्रसारण लाइनसँग लूप इन लूप आउट जडान सम्झौतामा समीक्षा भइरहेको छ ।  जसले प्रसारण लाइनलाई एक किलोमिटरमा घटाउने अपेक्षा गरिएको छ । जसले गर्दा लागत र समय थप घट्नेछ ।

नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।  आयोजनाबाट उत्पादन हुने ७० मेगाावट बिजुली कन्ट्रयाक्ट र ३० मेगावाट एडिसनल हुनेछ ।

आयोजनाको बाँधसँगै विद्युतगृह हुने (ड्याम टो) प्रकृतिको हुने भएको छ ।  यस्तो संरचना हुने सुपर त्रिशूली नेपालको पहिलो जलविद्युत आयोजना हो । आयोजना त्रिशूली नदीमा ११ हजार ६ सय ५९ वर्गामिटरमा क्याचमेन्ट एरिया रहेको छ ।

आयोजनाको मुल संरचना राजधानीबाट १ सय किलोमिटर टाढा हुनेछ ।  आयोजनाको संरचना चितवनको दारेचोक र गोरखामा पर्छ ।  आयोजनाबाट १९ किलोमिटर टाढा आवुखैरनीमा रहेको २२० केभी क्षमताको सवस्टेशनमा बिजुली जोडिने छ ।

आयोजनाले २२० केभी प्रसारणलाइन निर्माणका लागि सरकारबाट लाइसेन्स लिने भएको छ । मकैसिङमा रहने विद्युत् गृहबाट उत्पादन हुने बिजुली तनहुँको आवुखैरेनी गाउँपालिकास्थित प्रस्तावित मार्खिचोक सवस्टेशनमा जोडिने छ ।

सर्वसाधारणलाई प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्न गतवर्ष ब्लु इनर्जी पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।  आयोजना संस्थापक वरुण सराफ रहेका छन् ।  अर्का प्रवर्द्धक शेखरकुमार राणाका साथै डोमिनियन इन्भेस्टमेन्ट नामक विभिन्न क्षेत्रका संस्थाहरु पनि समावेश गरेका छन् । 

याक एन्ड यतीले आयोजनामा प्राविधिक सहयोग र आर्थिक सहयोग प्रदान गर्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्