site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गेजुवा ग्रुपले भेरी–१ मा ७२ अर्ब लगानी गर्ने

काठमाडौं । चाइना गेजुवा ग्रुपले २७० मेगावाटको भेरी–१ अर्धजलाशय (पीआरओआर) जलविद्युत् आयोजना बनाउने भएको छ । ग्रुपले आयोजना बनाउन गेजुवा ग्रुप पावर इन्भेस्टमेन्ट नेपाल स्थापना गरिसकेको छ । आयोजना बनाउन ७१ अर्ब ९७ करोड १६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रस्तावित आयोजनाबाट वार्षिक एक अर्ब ५६ करोड ७३ लाख युनिट विद्युतीय ऊर्जा उत्पादन हुने गेजुवाले गरेको अध्ययनले देखाएको छ । जसअनुसार सुक्खामा ४७ करोड १८ लाख र वर्खामा एक अर्ब नौ करोड ५४ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ ।

आयोजना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन हुने गरी डिजाइन गरिएको छ ।

Argakhachi Cement Island Ad

आयोजना कर्णाली प्रदेशको जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा प्रस्ताव गरिएको छ । गेजुवाले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पारी वन तथा भूसंरक्षण मन्त्रालयमा पेस गरेकोे छ । मन्त्रालयको वातावरण प्रभाव अनुगमन शाखाले प्रतिवेदनमा राय मागेको छ ।

प्रस्तावित आयोजनाको जलाशय ५५ सय ७१ वर्गकिलोमिटर र सुरुङको लम्बाइ सात किलोमिटर हुने भएको छ । आयोजनाको विद्युत्गृह संरचनाबाहिर राख्न प्रस्ताव गरिएको छ ।

चिनियाँ कम्पनी गेजुवा ग्रुपले २०७५ जेठमा सर्वेक्षण लाइसेन्स लिएर अध्ययन अघि बढाएको थियो । पहिला ४४० मेगावाटका लागि भनेर सर्वे लाइसेन्स लिएकोमा पछि आयोजनाको जडित क्षमता १७० मेगावाट क्षमता घटाएर २७० मेगावाट कायम गरेको हो ।

यसअघि सरकारले प्रतिस्पर्धाबिनै चाइना गेजुवा ग्रुपलाई १२०० मेगावाटको बुढीगण्डकी जलाशय आयोजना बनाउन जिम्मा दिएको  थियो । निर्णय विवादित बनेपछि सरकार आफैँले बनाउने भन्दै गेजुवाबाट आयोजना फिर्ता ल्याएको थियो ।

२०७० मा माथिल्लो त्रिशूली ए आयोजनाको क्षमता बढाएर ६० बाट ९० मेगावाट पुर्‍याउन गेजुवाले ठूलो लबिङ गरेको थियो । त्यसबेला गेजुवा उक्त आयोजनाको ठेकेदार थियो । उसले इन्जिनियरिङ प्रक्युमेन्ट (इपीसी) खाकामा आयोजना बनाउन ठेक्का पाएको थियो ।

सर्वत्र विरोध भएपछि आयोजनाको क्षमता बढाउने निर्णयबाट नेपाल विद्युत् प्राधिकरण पछि हटेको थियो । यस्तै, ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना गेजुवाले बनाएको हो । आयोजना हालसम्मकै महंगो बनेको छ । नेपालमा गेजुवाको ट्रयाक रेकर्ड भने राम्रो छैन ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्