
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित आवाज नेपाललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एकल महिला र बालबालिकाको अधिकार, न्याय, मानव अधिकार, मानव ओसारपसार, द्वन्द्व प्रभावित र घरेलु हिंसाजस्ता विषयमा सशक्तीकरणका लागि काम गर्दै आएको आवाज नेपाललाई सहयोग गरेको हो ।
विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४० जना महिला र बालबालिकालाई सहयोग गरिरहेको संस्थालाई बैंकले करिब दुई महिनासम्म पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्री उपलब्ध गराएको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले सहयोगस्वरूप महिला र उनका बालबालिकालाई सामग्री हस्तान्तरण गरेका छन् । समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले संस्थालाई बैंकको प्रयासमा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको बताए ।
सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका २०० शाखा कार्यालय, १६८ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।